बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, असोज ११ गते । काठमाडौँ विश्वविद्यालय (केयु) ले मानसिक स्वास्थ्य केन्द्र (मानसिक अस्पताल) सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस महिनादेखि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, शारदा बतासेमा मानसिक अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको हो ।
काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य केन्द्रका निर्देशक डा. दीपक कुँवरले भन्नुभयो, “अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम भइरहेको छ, भवन निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले मङ्सिर महिनाभित्र भवनको काम पूरा गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्ने र विश्वविद्यालयले पुस महिनादेखि मानसिक अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ ।”
विश्वविद्यालयको आफ्नो स्रोतबाट आठ करोड रुपियाँको लगानीमा यो भवन निर्माण भइरहेको हो । नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको ५४० रोपनी जग्गामा अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल भवन निर्माणसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कामसमेत अगाडि बढेको छ ।
“पछिल्लो समय मानसिक रोगका बिरामीको सङ्ख्या बढ्दो छ, मानसिक रोगीको पुनस्र्थापना, जनशक्ति उत्पादन तथा मानसिक रोगकोे अनुसन्धानमा सरकार तथा अन्य निकायको ध्यान जान सकेको छैन” निर्देशक डा. कुँवरले भन्नुभयो । विश्वविद्यालयले सञ्चालन गर्न लागेको मानसिक स्वास्थ्य केन्द्र (मानसिक अस्पताल) लाई मानसिक रोगका बिरामीको पुनस्र्थापना केन्द्र, अनुसन्धान केन्द्र र जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । “अस्पताललाई तालिम केन्द्रका रूपमा विकास गर्नुका साथै टेलिमेडिसिनको माध्यमबाट देशभरका बिरामीको उपचार गर्ने हाम्रो लक्ष्य हो,” डा. कुँवरले भन्नुभयो । उहाँले केयुले सञ्चालन गर्ने मानसिक अस्पताललाई नेपालमा प्राज्ञिक क्षेत्रबाट सञ्चालन गरिएको देशको ठुलो क्षमता भएको अस्पताल बनाउन पहल गरिने बताउनुभयो ।
डा. कुँवरले विश्वविद्यालयले सुरुमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको आन्तरिक आम्दानीबाट अस्पताल सञ्चालन सुरु गर्ने र पछि विभिन्न निकायको सहयोग खोजी गरेर अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । मनोचिकित्सक तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका प्राध्यापक डा. अजय रिसालले नेपालमा सरकारी निकाय मातहत मानसिक रोगको एउटा मात्रै उपचार गर्ने अस्पताल रहेको र देशभित्र मानसिक रोगको उपचार गर्ने अस्पतालको खाँचो रहेको बताउनुभयो । उहाँले केयुले सुरु गर्न लागेको मानसिक रोग उपचार केन्द्र प्राज्ञिक निकायबाट सञ्चालन भएको पहिलो अस्पताल बन्नुका साथै मानसिक रोगको पुनस्र्थापना केन्द्र, अनुसन्धान केन्द्र र जनशक्ति उत्पादन गर्ने निकायका रूपमा रहने बताउनुभयो ।
१३ वर्षअघि आफूले धुलिखेल अस्पतालमा मनोचिकित्सकका रूपमा काम गर्दा ओपिडीमा दैनिक पाँच÷छ जना मात्रै बिरामी आउने गरेकोमा पछिल्लो समय दैनिक ६०/६५ जना मानसिक रोगका बिरामी आउने र तीमध्ये करिब १० जना अस्पतालमा उपचारका लागि भर्ना हुने गरेको उहाँले जानकारी दिनुभयो ।