• २४ मंसिर २०८०, आइतबार

पूर्ण विद्युतीकरण गर्न तीव्र काम हुँदैछ : उर्जामन्त्री बस्नेत

blog

आयोजनाको शिल्यानासपछि सम्बोधन गर्दै मन्त्री बस्नेत । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १० गते । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको सबै ठाउँमा पूर्ण विद्युतीकरण गर्नेगरी सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ । 

बुधवार बाँकेको जानकी गाउँपालिका–५ बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको १३२–३३ केभी सबस्टेशनको शिलान्यास गर्दै मन्त्री बस्नेतले दुई वर्षपछि देशको सबै ठाउँमा विद्युत पुग्ने बताउनुभयो । 

उहाँले दुई वर्षभित्र हुम्लाको मन्खासम्म विद्युत पुगाएर देशको सबै भू–भागलाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ अहिले तीव्र गतिमा विभिन्न आयोजनाको निर्माण कार्य चलिरहेको जानकारी गराउनुभयो । 

मन्त्री बस्नेतले थप्नुभयो, ‘आर्थिक विकासका लागि विद्युत र सिँचाइ सबैभन्दा महत्त्वपूर्ण कुरा हुन् । सरकारले विद्युत र सिँचाइको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको छ । केही समयमै यसको प्रत्यक्ष लाभ हामी सबैले पाउनेछौँ ।’

आयोजना निर्माण निर्धारित समयभन्दा पहिले नै समाप्त गर्नेगरी काम गर्न सो अवसरमा मन्त्री बस्नेतले निर्माण कम्पनी विद्युत प्राधिकरणलाई निर्देशन दिनुभयो । 

आयोजनाबारे जानकारी गराउँदै कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रन्जन गुरुङले २०० मेघावाट क्षमताको यो सबस्टेशन निर्माण भएर विद्युत आपूर्ति सुरु भएपछि बाँकेका विद्युतसम्बन्धि सबै समस्या समाधान हुने बताउनुभयो । 

उहाँले डेढ अर्बको लागतमा निर्माण गरिने सो आयोजना र सबस्टेशनको निर्माण कार्य दुई वर्षमा पूरा गर्नेगरी पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताउनुभयो । 

सो अवसरमा जानकी गाउँपालिका–५ का वडा अध्यक्ष टीकाराम यादव, लुम्बिनी प्रदेश सभाका सदस्यहरू रत्न खत्री र बादशाह कुर्मी, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले आयोजनाबाट हुने फाइदाका बारेमा आफ्नो भनाइ राख्नुभयो ।  

कार्यक्रममा पुर्वमन्त्री सत्या पहाडी, ऊर्जा, जलश्रोत र सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, सिँचाइ विभागका महानिर्देशक चुर्न ओलीलगायत बाँकेका प्रहरी प्रशासन प्रमुखको पनि सहभागिता रहेको थियो ।