• १७ असार २०८१, सोमबार

कटान नियन्त्रण सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

blog

उर्जा सिंचाइँ तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत बाँकेको फत्तेपुरमा आयोजित कार्यक्रममा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज ९ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नदी कटान नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) ले राप्ती–सोनारी गाउँपालिका ६ मोहनपुरमा आयोजना गरेको भेलामा मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । बाँकेमा रहेको पश्चिम राप्ती र अन्य खोला नियन्त्रण सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘राप्ती नदीले गरिरहेको कटान, पटान र डुबान समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

मन्त्री बस्नेतले नदी नियन्त्रणका लागि लामो तटबन्ध सुरु गरिने बताउनुभयो । यसैबीच मन्त्री बस्नेतले बाढीबाट प्रभावित भइरहने राप्ती पारी नरैनापुर गाउँपालिकाबासीसँग पनि मङ्गलबार नै भेटघाट गरी कटान नियन्त्रणको पहलकदमी अघि बढाइएको जानकारी दिनुभयो । 

ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत रहेको  जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ लमहीले बाँकेमा राप्ती नदी कटान नियन्त्रणका लागि १२ अर्ब बढीको लागतमा कार्यान्वयनमा आउनेगरी तटबन्धको योजना ल्याएको छ । 

राप्ती नदी डुडुवा, मुगुवा र झिझरी खोला कटान नियन्त्रणका लागि ४१.२ किलोमिटर तटबन्ध गरिने योजना रहेको छ । योजना कार्यान्वयन अघि कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदाको प्रतिवेदन तयारीका लागि असोज १४ गते राप्ती–सोनारीको फत्तेपुरमा सार्वजनिक सुनुवाइका लागि सूचना जारी गरेको छ । 

राप्ती नदीमा बायाँतर्फ १८ किलोमिटर र दायाँतर्फ १० किलोमिटर तटबन्ध गरिने तयारी छ । राप्ती–सोनारी, डुडुवा र नरैनापुर गाउँपालिका केन्द्रित तटबन्ध निर्माण गर्न लागिएको छ । मन्त्री बस्नेतसँगै माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सदस्य कृष्णा केसीले स्थानीय बासिन्दासँग छलफल गर्नुभयो ।