• ११ मंसिर २०८१, मङ्गलबार

बढ्दो साइबर अपराध

blog

शालिग्राम नेपाल 

चितवन, असोज ८ गते । चितवनको नारायणगढ घर भएका सुधीर न्यौपाने हतारिँदै जिल्ला प्रहरी कार्यालय भरतपुरमा पुग्नुभयो । आफन्तलाई साथ लिएर जानुभएका न्यौपाने आफ्नो फेसबुक पेजमा अरू कसैले अश्लील तस्बिर राखिदिएको भन्दै त्यसलाई रोक्न प्रहरीलाई अनुरोध गर्न जानुभएको थियो । दुई हप्तादेखि फेसबुक नखोल्नुभएका न्यौपानेले अश्लील फोटो पोस्ट भइराखेको जानकारी आफन्तले दिएपछि मात्रै थाहा पाउनुभएको थियो ।  

न्यौपाने जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी दिन पुग्दा उहाँको जस्तै समस्या लिएर आउने अरू पनि धेरै थिए । अरू पीडितको भने फेसबुकको पासवर्ड अरूले चोरेर चलाउने, ह्याक गरेर अरूसँग पैसा माग्ने गरेको, गलत कार्य गर्ने जस्ता गुनासा थिए । 

उजुरीका लागि पुग्नुभएका भरतपुर महानगरपालिकाका ६० वर्षीय अर्जुन रिजालले भन्नुभयो, “अश्लील भिडियो किन राख्नुभएको बुवा भनेर विदेशबाट छोराले फोन गरेर भनेपछि मात्र थाहा पाएँ ।” सामाजिक कार्यमा समेत संलग्न रिजाललाई फेसबुक ह्याक भएर त्यस्तो भएको हो भन्दै जानकारी दिँदासमेत फोन आउन छाडेको छैन । चार हजार नौ सय सदस्य भएको फेसबुक ह्याक भएपछि उहाँले नयाँ एकाउन्ट खोलेर जानकारी दिनुभएको छ । 

रिजालले भन्नुभयो, “अहिले आफ्ना कुरा राख्न, समाचार तथा सूचनामूलक जानकारी पाउन फेसबुक चलाउनुपर्ने हुन्छ तर चालु फेसबुक ह्याक हुँदा त्यसमा राखेका फोटा, अन्य सामग्रीसमेत अरूको पहँुचमा पुगेपछि चिन्ता हुने रहेछ ।”

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यी साइट ह्याक हुने, ह्याकरले गलत सूचना राखिदिने, पैसा माग्ने, ह्वाट्सएपबाट लाखौँको चिट्ठा परेको भन्दै पैसा माग्ने, बैङ्कको खाता नम्बर, ओटिपी कोड माग्ने गरेको जस्ता समस्या बढेका छन् । दैनिक २०–२१ वटा उजुरी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । 

सामाजिक सञ्जाल चलाउँदा अनावश्यक लिङ्कमा लाइक गर्ने, जानकारी नभएको लिङ्क खोलेर हेर्दा ह्याक हुने, चिट्ठा परेको भनी फोन गरी बैङ्कको ओटिपी माग्ने, खाताबाट पैसा गएपछि उजुरीका लागि प्रहरीमा आउने घटना बढेको प्रवक्ता पण्डितले भन्नुभयो । सामाजिक सञ्जाल चलाउँदा अनावश्यक लिङ्क खोल्न नहुने, नचिनेका व्यक्तिबाट सूचना माग्दा जानकारी दिन नहुने प्रहरी कार्यालयले अनुरोध गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्गा २०७८÷७९ मा साइबर अपराधसम्बन्धी २२३ निवेदन परेका थिए भने सबै निवेदनको काम सम्पन्न भएको छ । आव २०७९÷८० मा निवेदन दिने सङ्ख्या बढेर ३२४ पुगेको छ । निवेदन परेका सबैको काम सम्पन्न भएको छ । चालु आवको साउन र भदौ दुई महिनामा १५५ निवेदन परेको छ । यीमध्ये १४० वटाको समस्या समाधान भएको छ । निवेदन परेका सबै मुद्दामा ह्याक भएको फेसबुक बन्द गराइदिने उजुरी हुने गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा परेको निवेदन काठमाडौँमा पठाउने र साइबर अपराध हेर्ने निकायले फेसबुक बन्द गराउने गर्छ । कसले ह्याक गरेको हो भनी खोजी गर्न जटिल हुने हुँदा बन्द गराउने काम नै प्रमुख हुने भएकाले निवेदन परेका सबैको बन्द हुने गरेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो । 

गम्भीर प्रकृतिका र किटानी जाहेर गरेर निवेदन दिएमा अनुसन्धान गर्न सहज हुन्छ । ह्याक हुने, चिट्ठा परेको भन्दै ओटिपी मागेर पैसा एकाउन्टबाट जाने, नचिनेका व्यक्तिले अनलाइनमार्फत पैसा ठगी गर्ने विषयमा भने अनुसन्धान गरी कसुरदारलाई नियन्त्रणमा लिन जटिल हुने उहाँले बताउनुभयो । सोझै कार्यालयमा वा अनलाइनमार्फत निवेदन दिने व्यवस्था रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।