गोकर्ण पौडेल
तुलसीपुर, असोज ७ गते । डेढ वर्षअघि चुनावको समयमा पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र बाँड्दै हिँडेका नगरप्रमुख (मेयर) अहिले डेंगु नियन्त्रण गर्ने अभियानमा लाग्नुभएको छ ।
तुलसीपुर नगरवासीलाई घर–घरमा प्रमुख टीकाराम खड्काले सचेतनापत्र बाँड्दै हिँड्नुभएको छ । नगरप्रमुख खड्काले डेंगु बढ्दै गएपछि जनताले दिएको मतलाई सम्मान गर्दै जनताको जीवन बचाउने अभियानमा पर्चा बाँड्दै हिँडेको बताउनुभयो ।
नगरप्रमुख खड्काले डेंगु नियन्त्रणका लागि सचेतनापत्रका साथै घर–घरमा पुगेर ड्रममा बिर्कोले नढाकी पानी राखेको अवस्थामा डेंगुका लामखुट्टेका लार्भा रहने भन्दै बिर्को लगाउन आग्रह गर्नुभयो । त्यस्तै, नगरप्रमुख खड्काले गाडीका टायरमा पानी जम्ने र त्यहाँ तीव्र रूपमा लामखुट्टेका लार्भा बढ्ने भन्दै सचेत गराउनुभएको छ ।
नगर प्रमुखको टीकाराम खड्काको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधिले डेंगु नियन्त्रणका लागि टोल–टोलमा पुगेर सचेतना जगाउनुभएको छ ।