गोविन्द शर्मा
बाँके, असोज ७ गते । बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजना अन्तर्गत निर्माण सुरु गरेको बहुउद्देश्यीय सभाहल अलपत्र परेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुनु पर्नेमा चार वर्षसम्म समेत निर्माण अधुरो रहेको छ ।
चार वर्षअघि निर्माण सुरु भएको सभाहलको काम अघि नबढेपछि निर्माण भएको भवन समेत जीर्ण हुन थालेको छ । २०७६ साल जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रालि. काठामाडौंसँग ठेक्का सम्झौता भई २०७८ साल असार मसान्तसम्म सक्नेगरी २ तले सुविधा सम्पन्न सभाहलको शिलान्यास भएको थियो ।
भवन निर्माणको शिलान्यास २०७६ सालको कात्तिकमा गरिएको थियो । सुरुवातमा निर्माण कार्य द्रुतगतिमा भए पनि कोभिड सङ्क्रमणपछि रोकिएको थियो । नयाँ जनप्रतिनिधि आइसकेपछि निर्माण कार्य अघि बढे पनि फेरि रोकिएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सभा हललाई पूर्णता दिनका लागि बारम्बार निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । अध्यक्ष विकले भन्नुभयो, ‘हालसम्म भएको निर्माणको स्ट्रक्चर एनालाइसिसका लागि डिपीआर गर्ने कम्पनीलाई बोलाएका छौँ, हालसम्म सम्पर्कमा आएको छैन ।’
खजुरा बजारमा करिब पाँचसय जना बस्न मिल्ने क्षमताको सभाहल निर्माणका लागि ढिलाइ भए पनि पछिल्लो पटक पुनः म्याद थप गरिएको अध्यक्ष विकले बताउनुभयो ।
निर्माण कम्पनीले ४ करोड ८० लाख ३६ हजार ५६० रुपियाँ भ्याट बाहेकमा सभाहल निर्माणको जिम्मा पाएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्यमा ढिलाइ भएपछि सभाहल दिन प्रतिदिन कुरूप बन्दै जान थालेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।