• ६ जेठ २०८१, आइतबार

नेपालमा पर्यटन प्रवर्धन गर्दै अमेरिकी सांसद भोजनी

blog

काठमाडौँ, असोज ७ गते । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपाली संस्कृति र पर्यटन प्रवर्धनको विशेष चासो देखाउनुभएको छ। मिसन इन्टरटेनमेन्टले निर्माण गरेको नेपाली पर्यटनसम्बन्धी बालगीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ लोकार्पण कार्यक्रममा उहाँले नेपाल र नेपालीको मौलिक संस्कृति, कला, साहित्यप्रति आफ्नो अगाध माया र स्नेह रहेको जनाउनुभयो। उहाँले नेपाली कला, संस्कृत र साहित्य मात्रै नभई नेपालीको परम्परा, सङ्गीत र महोत्सवसँग समेत परिचित भएकाले नेपालको पर्यटन प्रवर्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियतासाथ लाग्ने बताउनुभयो।

पहिलो पटक नेपाल भ्रमण आउनुभएका उहाँले सगरमाथा नेपालको सम्पत्ति भएकाले विश्वको ध्यान नेपालमा आकर्षित गराउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो। 

अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्धनका लागि सक्रिय हुने बताउँदै उहाँले अमेरिकाको टेक्सास राज्यमा रहेका प्रवासी नेपालीको भाषा, संस्कृति, परम्परा, चाडपर्वसँग परिचित रहेकै कारण आफूले सांसदमा जितेको बताउनुभयो। उहाँले भन्नुभयो, “आज म जुन स्थानमा छु, त्यसमा अमेरिकामा रहेका नेपालीको माया र विश्वासको पनि त्यत्ति नै जिम्मेवारी छ। नेपालीको सद्भावले नै अहिले नेपाल आइपुगेकाले यहाँको पर्यटन प्रवर्धनमा समेत समय खर्चिने छु।”

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उहाँले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो। निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीमाझ मत मागेको स्मरण गर्दै भोजनीले त्यहाँको नेपाली समुदायले देखाएको सद्भावले नै आफूमा नेपाल र नेपालीको हितका लागि सदैव सक्रिय भइरहने प्रेरणा जागेको बताउनुभयो। 

पाकिस्तानी मूलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुनुहुन्छ। वरिष्ठ अधिवक्तासमेत रहनुभएका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाध प्रेम दर्शाउनुभएको छ। टेक्सासमा दसैँ, तिहार र तिज पर्वमा बिदाको मान्यता दिलाउन पनि उहाँले अहम् भूमिका खेल्नुभएको थियो। अमेरिकामा रहने नेपालीका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उहाँले सुनाउनुभयो।

पर्यटन गीत

सो अवसरमा मिसन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बालगीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो। मिसन किड्स च्यानलमा  सार्वजनिक हुने उक्त गीतमा डा. भोला रिजालको शब्द रचना, बिपी वाग्लेको सङ्गीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीको स्वर रहेको छ। नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई सम्बोधन गरिएको गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बालशिक्षा र सन्देश दिनुका नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गरेको छ।

  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।