बाबुराम कार्की
वराहक्षेत्र, असोज ५ गते । रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले मन्दिर क्षेत्रमा रहेका बाँदर र परेवालाई संरक्षण गर्न लागेको हो । गुठी व्यस्थापन समितिले बाँदरको संरक्षणका लागि आहाराकोे जोहो गर्न फलफूलका बिरुवा लगाउने भएको छ ।
रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समितिको मन्दिर परिसरमा भएको १० औं वार्षिक साधारण सभामा मन्दिर गुठी व्यस्थापन समितिको अगुवाइमा बाँदरको संरक्षण गर्न थालिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका– ४ मा रहेको मन्दिर चारैतिर जङ्गलको बीच भागमा अवस्थित छ । वराहक्षेत्र नगरको वडा ८, ९, १०, भोक्राहा नरसिंह गाउँपालिका–१ र इनरुवा नगरपालिका–८ को तीन हजार दुई सय बिघा क्षेत्रफलमा फैलिएको जङ्गलकोे बीच भागमा रामधुनी मन्दिर छ ।
जङ्गलको बीच भागमा रहेकैले मन्दिरको शाेभा मानिने यहाँका बाँदर, परेवा लगायतका पशुपन्क्षी संरक्षणमा रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समिति र सरोकारवालाहरु लागिपरेको बताइएको छ ।
रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले मन्दिर क्षेत्रको खाली ठाउँ र सुनसरी खोलाको किनार क्षेत्रमा हर्रो, बर्रो, कुसुम, अम्बा र केराको बिरुवा लगाउने भएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।
बाँदरको खान्की र परेवाको चारोका लागि रामधुनी नगरपालिकाले पनि केही सहयोग गर्ने भएको छ । “हामीले अरु सङ्घ सस्थालाई पनि बाँदर र परेवाको आहारका लागि अनुरोध गरेका छौँ । प्राणीलाई जोगाउने हामी सबै मानवको कर्तव्य हो” अध्यक्ष कार्कीले भन्नुभयो ।
रामधुनी मन्दिर क्षेत्रमा पाँच सयभन्दा बढी बाँदर र चार सयको सङ्ख्यामा परेवा छन् । मन्दिरमा आउने भक्तजनले परेवा उडाउन ल्याउने हुँदा परेवाको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।
अन्यत्र ठाउँबाट पनि रामधुनी मन्दिर क्षेत्रमा बाँदर ल्याएर छोडिएकाले बाँदरको सङ्ख्या धेरै भएको छ । बादरको आहाराको रुपमा रहेको कन्दमूलका रुखहरु मासिंदै गएकाले दिन प्रतिदिन भएका फलफूका बोटहरुले मात्रै पुग्न छाडेपछि कन्दमूलका विरुवा लगाउन तत्कालै सुरु गर्ने गुठी व्यस्थापन समितिका सचिव रामप्रकाश कोइरालाले बताउनुभयो ।
साधारण सभामा आर्थिक वर्ष ०७९/०८० को ११ लाख ३४ हजार ७३० रुपियाको आय व्यय प्रतिवेदन अध्यक्ष डिल्ली कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिका–१० का वडाध्याक्ष तेजबहादुर गुरुङ्गले भन्नुभयो “रामधुनी मन्दिरमा कङ्क्रिटको मन्दिर मात्रै भएकाले मन्दिर आकर्षण देखिएको छैन । अब काठै काठको पाँचतलाको राम दरवार (मन्दिर) बनाउन सबै सरोकारवाला लाग्नुपर्नेछ ।”
हिन्दु धर्मावलम्बीहरुको पौराणिक भनाइ अनुसार त्रेतायुगमा श्री रामचन्द्र वनवासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने कथन छ ।
पौराणिक भनाइअनुसार त्रेतायुगमा श्री रामचन्द्र वनावासका क्रममा रामधुनीमा धुनी लगाएर एक रातबास बसेकोले रामधुनी नाम रहन गएको जनविश्वास छ । पुराणहरुमा समेत वर्णन गरिएको रामधुनी मन्दिर मा मुलुकभित्र र मुलुकबाहिरबाट हिन्दु धर्मावलम्बीहरु दर्शनका लागि आउने गरेका छन् ।
रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीज आदि जस्ता पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको दर्शन गर्न भिड लाग्ने गरेको छ ।