न्युयोर्क, असोज ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताउनुभएको छ । उहाँले नागरिकको जीवनस्तर उकास्न भोकमरीविरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क आउनुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गर्नुभएको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालको इतिहास नागरिकको सङ्घर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो सङ्घर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो । हामी प्रजातान्त्रिक र समावेशी संविधान २०७२ मा जारी गर्न सफल भएका छौँ । यो हाम्रा लागि कोसेढुङ्गा साबित भएको छ ।”
उहाँले स्वतन्त्र प्रेस, समावेशी सहभागिता, व्यक्तिगत अधिकार, सामाजिक न्याय, कानुनी राज जस्ता विषय संविधानको मुख्य विशेषता भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया आन्तरिक घरेलु वातावरणमा र नमुनाका रूपमा मात्र अगाडि बढेको नभई राजनीतिक विषयमा पनि एउटा सफलताको कथा भएको बताउनुभयो । “विश्वमा दुर्लभ रूपमा देखिने राजनीतिक कोर्स अन्तर्गत नेपालले सशस्त्र द्वन्द्वलाई समाधान गरेर राजनीतिक व्यवस्थापन गर्न सफल भएको छ र निर्वाचित प्रतिनिधिहरूद्वारा समावेशी संविधान निर्माण गरिएको छ । यस अवस्थामा मैले अवश्य नै स्मरण गर्नुपर्ने हुन्छ, अमेरिकालगायतका मित्रराष्ट्रहरू र सहयोग नियोगले गरेको सहयोग र ऐक्यबद्धताप्रति आभारी छौँ ।”
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल बिक्रमासिङ्घेबिच न्युयोर्कमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बिक्रमासिङ्घेबिच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । यसै गरी प्रधानमन्त्री ‘प्रचण्ड’ सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्ठित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।
न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारी अनुसार भेटका अवसरमा उहाँहरूबिच सामूहिक चासोका विभिन्न विषय र अल्प विकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।