• २७ वैशाख २०८१, बिहिबार

सडकमा रातो लेन : द्रुत बस सेवा सुरु

blog

काठमाडौं, असोज ३ गते । काठमाडौँमा बुधबार (आज) देखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो । 

द्रुत बसको शुभारम्भ रत्नपार्कबाट भएको छ । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “सडकमा रातो रङले डेडिकेटेड लेन छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका सवारीसाधन उक्त लेनमा प्रवेश गर्न पाउने छैनन् ।”

हाललाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गर्न लागिएको हो । शुभारम्भको दिन दुई वटा बस सञ्चालन हुने र असोज ४ देखि बस थप गरी नियमित सञ्चालन हुने जानकारी पनेरूले दिनुभयो ।

ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो । रत्नपार्क–सूर्यविनायक सडकमा नमुनाका रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ ।

द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठुला बसको व्यवस्थापन गरेको छ । द्रुत बस गुड्ने डेडिकेटेड लेनमा तोकिएको समयमा अन्य सवारीसाधन चलाउन पाइने छैन । एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने उक्त लेनमा चलाउन पाइने छ ।

विभागका अनुसार ट्राफिकको रातो बत्तीमा पनि द्रुत बस रोकिँदैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधन जस्तै गुड्ने छन् । सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने प्रवक्ता पनेरूले बताउनुभयो । 

काठमाडौँ उपत्यका ट्राफिक  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सरकारले संविधान दिवसको अवसर पारेर द्रुत बस सेवा सञ्चालनमा  ल्याउन लागेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँसम्म द्रुत बस सेवा सञ्चालन गर्न लागेको हो । यसका लागि अलग्गै लेन तयार गरिसकेको उहाँले जानकारी दिनुभयो । उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागेको उहाँको भनाई छ । 

भट्टका अनुसार द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । भट्टले भन्नुभयो, “पहिलो चरणमा द्रुत बस सेवा रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन हुनेछ । अत्यधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ ।”

त्यसका लागि ३० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,“द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ नै फरक हुनेछ । द्रुत बस सेवाको सडक लेन बनाइएको छ ।” 

सरकारले संविधान दिवसको अवसरमा सरकारले सञ्चालन गर्न लागेको द्रुत बस सेवाको बारेमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टसँग गोरखापत्र अनलाइनले तयार पारेको  भिडियो संवाद :


भिडियो : केशब गुरुङ/मनोज रत्न शाही 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।