• १३ मंसिर २०८१, बिहिबार

सुदूरपश्चिम श्री शारीरिक सुगठनको ट्रफी सार्वजनिक

blog

ट्रफि सार्वजनिक गरिँदै ।

धनगढी, असोज १ गते । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 

फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदूरपश्चिम श्री प्रतियोगिताको  ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । 

दुई विधाका प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई दिइने ट्रफी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गर्नुभयो । 

खुला पुरुष शारीरिक र शारीरिक सुगठन खुला गरी दुई विद्यामा खेलाइने प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार रुपियाँ पुरस्कार दिइनेछ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ पुरस्कार दिइनेछ । साथमा जिन्सी पुरस्कारहरूबाट पनि पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सदस्य सचिव दीपकबहादुर सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारीरिक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषद्ले प्रवर्द्धन गरेर साथ दिएको बताउँदै यसले खेलाडी उत्पादनमा पनि टेवा पुग्ने बताउनुभयो । 

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरू उत्पादन गर्दै यो क्षेत्रको देशभरि पहिचान गराउन र लागुऔषध दुर्व्यसनी रोक्ने उद्देश्य सहित प्रतियोगिता आयोजनाको तयारीमा लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडीहरूले भाग लिने सक्नेछन । प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका जहाँ सुकै बसोबास गरिरहेका खेलाडीहरूले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोर्ट्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिनुभयो ।