सन्धिखर्क समाचारदाता
सन्धिखर्क, असोज १ गते । अर्घाखाँचीमा ८० हजार ५६९ जनाले स्वास्थ्य बिमा गरेका छन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ को ४५.४९ प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बोर्ड शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ।
जिल्लाका छ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकामा २० हजार ५३८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जसमा महिला १० हजार ७९० र पुरुष नौ हजार ७४८ जना रहेका छन्। शीतगङ्गा नगरपालिकामा १३ हजार ७२८ जनामध्ये महिला सात हजार ३२ र पुरुष छ हजार ६६६ रहेका छन्। पाणिनी गाउँपालिकामा १५ हजार २३४ जनामध्ये महिला सात हजार ८७३ र पुरुष सात हजार ६६१ जनाले बिमा गरेका छन्।
भूमिकास्थान नगरपालिकामा सात हजार २९६ जनामा महिला तीन हजार ८२८ र पुरुष तीन हजार ४८६ रहेका छन्। छत्रदेव गाउँपालिकामा १५ हजार २४५ जनामध्ये सात हजार ९०५ जना महिला र सात हजार ३४० जना पुरुषले बिमा गरेका छन्। मालारानी गाउँपालिकामा आठ हजार ५२८ जनामा महिला चार हजार ३९८ र पुरुष चार हजार १३० जनाले स्थास्थ्य बिमा गरेका छन्।
स्वास्थ्य बिमा गर्नेमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी छ। हालसम्म स्वास्थ्य बिमा गर्ने महिलाको सङ्ख्या ४१ हजार ८५६ छ। पुरुषको सङ्ख्या ३८ हजार ७३१ रहेको छ। सन्धिखर्क नगरपालिकाबाहेक अन्य नगरपालिकामा भन्दा गाउँपालिकामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढी छ।
भूमिकास्थान नगरपालिकामा सबैभन्दा थोरै सात हजार २९६ जनाले स्वास्थ्य बिमा गरेका छन्। पाणिनी गाउँपालिकामा चार हजार ७४९ परिवार र भूमिकास्थान नगरपालिकामा दुई हजार ७६० परिवार बिमित भएका छन्। मालारानी गाउँपालिकामा तीन हजार ७१ र छत्रदेव गाउँपालिकामा चार हजार ९२१ परिवारले स्वास्थ्य बिमा गरेका छन्।
छ वटा पालिकाको कुल ८० हजार ५६९ बिमित सङ्ख्यामध्ये तीन हजार १९६ जना अति गरिब रहेको स्वास्थ्य बोर्ड कार्यालयका जिल्ला संयोजक रामबहादुर थापाले जानकारी दिनुभयो। बिमा गर्नेमध्ये पूर्ण अपागङ्ताको सङ्ख्या ४८० रहेको छ। ज्येष्ठ नागरिकको सङ्ख्या दस हजार ६१६ रहेको छ। बिमा गर्नेमध्ये एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ७४ रहेको छ।
स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० रुपियाँ तिर्नु पर्छ। जसमा एक लाख रुपियाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार हुने गर्दछ। परिवारको सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति सात सय रुपियाँ थप गरेपछि दुई लाख रुपियाँ बराबरको उपचार हुन्छ।
संयोजक थापाका अनुसार स्वास्थ्य बिमालाई अभियानकै रूपमा लगिएको छ। स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पनि बढ्दो छ। स्वास्थ्य बिमा स्वचालित रूपमा निरन्तर चलिरहने कार्यक्रम रहेकाले सिटामोलदेखि एमआरआईसम्मका सरकारले तोकेका सुविधा छन्। २०७४ फागुनबाट जिल्लामा स्वास्थ्य बिमाको दर्ता सुरु भएको थियो। २०७५ जेठबाट सेवा प्रारम्भ भएको थियो। जिल्लामा स्थास्थ्य बिमा बोर्डसँग सम्झौता गरेका सूचीकृत सेवा प्रदायक संस्था छ वटा रहेका छन्। अर्घाखाँची जिल्ला अस्पताल, जिल्ला आँखा उपचार केन्द्र, बलकोट प्राथमिक स्वास्थ्य केन्द्र, छत्रदेव र ठाडा प्राथमिक स्वास्थ्य केन्द्र शीतगङ्गा रहेका छन्।