काठमाडौँ, भदौ ३१ गते । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ प्रिक्वाटर फाइनलबाट बिदा भएको छ ।
लैनचौर फुटसल मैदानमा आइतबार वडा नं १४ ले वडा नं २३ लाई प्रतिस्पर्धात्मक खेलमा १–० ले हराएर क्वाटर फाइनलमा स्थान बनायो । सो खेलमा मनीष रानाभाटले विजयी गोल गर्नुभएको थियो । उहाँ नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।
काठमाडौँ महानगरपालिकाका वडाहरुबीच भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार भएका अन्य खेलमा वडा नं ४, वडा नं १७ र वडा नं ३२ आआफ्नाे खेल जितेर क्वाटर फाइनलमा पुगे । पहिलो खेलमा वडा नं ४ ले वडा नं ९ लाई १–० ले हराएर अन्तिम आठमा स्थान बनायो । सो खेलमा भएको एक मात्र गोल प्रजेश अधिकारीको नाममा रह्यो । प्रजेश नै म्यान अफ दि म्याच चुनिनुभयो ।
दोस्रो खेलमा वडा नं १७ ले वडा २७ को चुनौती १–० ले समाप्त पार्यो । सो खेलमा विजयी टिमका गोलरक्षक लक्ष्मण देउला म्यान अफ दि म्याच बन्नुभयो । यसैगरी वडा नं ३२ ले वडा नं २२ लाई २–० ले पराजित गर्यो । सो खेलमा विशान्त मगर र जीवन पराजुलीले गोल गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत सोमबार प्रिक्वाटर फाइनलका खेलहरु खेलिनेछन् । सोमबार वडा नं १४ ले वडा नं ३२, वडा नं १५ ले वडा न २६, वडा नं ४ ले वडा नं १७ र वडा नं ११ ले वडा नं १३ सँग खेल्नेछन् ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।