• १३ मंसिर २०८१, बिहिबार

रोग नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री खनाल

blog

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ ३१ गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले रोग नियन्त्रण र उन्मूलनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ। क्षयरोग, एचआईभी एड्स र मलेरिया रोग नियन्त्रण तथा उन्मूलनका लागि दाङ जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुसँग जिल्ला स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको अभिमुखीकरण तथा समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले कुनै रोगलाई प्रकोपका रुपमा फैलिन नदिएर नियन्त्रण गर्नका लागि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठुलो भूमिका रहने बताउनुभएको हो । 

प्रदेश सरकारले प्रत्यक्ष रुपमा प्रदेश अन्तर्गतका अस्पतालमार्फत मात्रै काम गर्नसक्ने भएकाले स्थानीय तहका स्वास्थ्य सस्थाको भूमिका बढी महत्वपूर्ण हुने बताउनुभयो । जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि स्थानीय सरकारसँग सहर्काय गरेर काम गर्न प्रदेश सरकार लागेको बताउनुभएको हो । 

मन्त्री खनालले भन्नुभयो, “जनतालाई सहज रुपमा सेवा चाहिएको छ, त्यसका लागि प्रदेशअन्तर्गतका अस्पतालहरुसँगै स्थानीय तहमा रहेका अस्पतालहरुले पनि ध्यान दिनुपर्छ।” उहाँका जिल्लाका दश वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई सुविधा युक्त बनाउने र बिरामीहरुलाई पालिकाभित्रै उपचार गर्न सकिने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जनतालाई छिटो र छरितो रुपमा सर्वसुलभ सेवा दिनका लागि स्वास्थ्यका कर्मचारीहरुलाई आग्रह गर्नुभयो । जिल्लाका दश वटै पालिकाका स्वास्थ्य, योजना र महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा जिल्लाभित्र क्षयरोग, एचआईभी एड्स र मलेरिया रोग अवस्थाका बारेमा समीक्षा गरी नियन्त्रणका लागी खेल्नुपर्ने कार्ययोजना निर्माण गरिने स्वास्थ्य मन्त्रालयका सचिव पन्थीले जानकारी दिनुभएको छ ।