• ११ मंसिर २०८१, मङ्गलबार

प्राज्ञ शशीराम कार्कीको देवरात महाकाव्यको विमोचन

blog

काठमाडौँ, भदौ ३१ गते । १५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य देवरात को  विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गर्दै देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा इज्जत बढेको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले प्राज्ञ शशिराम कार्कीले पछिल्लो समयमा नेपाली साहित्यमा पुराएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले  शशिराम कार्कीले छोटो समयमा नेपाली साहित्यमा कथा, कविता, उपन्यास हुँदै महाकाव्य प्रकाशन गरेर नेपाली भाषा साहित्यलाई पुराएको योगदान उदाहरणीय रहेको बताउनुभयो ।

देवरातका समीक्षक द्वय डा. इन्द्रबहादुर भण्डारी र वीरेन्द्र शाहीले कवि कार्कीले महाकाव्य मार्फत उठाएका विषयवस्तुहरू महत्त्वपूर्ण रहेको बताउँदै महाकाव्य रहर र लहडले लेखिने कुरा नभएको र देवरात महाकाव्यमा केही कमीकमजोरी रहे पनि कार्कीले लेख्नकै लागि मात्रै  महाकाव्य नलेखेको विचार राख्नुभयो । प्राज्ञ हरिप्रसाद तिमिल्सिनाद्वारा मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको कार्यक्रममा  कृतिकार शशिराम कार्की र किरण आचार्यले मन्तव्य राखेको थिए ।

साहित्यकार चरित्रा शाह र भीम प्रज्वलले देवरात महाकाव्यका केही श्लोकहरू वाचन गरेर सुनाएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले सभापतिको मन्तव्य राख्दै पुस्तकालयले भाषा साहित्यको विकास र संवर्द्धनका लागि निरन्तर कोसिस  गर्दै आएको बताउनुभयो ।