• १० मंसिर २०८१, सोमबार

अठसट्ठी प्रतिशतले चलाउँछन् फोरजी

blog

काठमाडौँ, भदौ ३१ गते । सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी प्रयोग गर्नेको सङ्ख्या दुई करोडनजिक पुगेको छ । 

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एक करोड ९७ लाख ८१ हजार ४८९ जनाले फोरजी प्रयोग गर्ने पाइएको हो । यो कुल जनसङ्ख्याको करिब ६८ प्रतिशत हुन आउँछ । कुल फोरजी प्रयोगकर्तामध्ये नेपाल टेलिकमको फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड २६ लाख ८० हजार रहेको छ । त्यस्तै एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७१ लाख रहेको छ । 

थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने एक ७७ लाख ५३ हजार मात्र रहेको छ । यसमध्ये टेलिकमका प्रयोगकर्ता ५९ लाख ३१ हजार रहेका छन् भने एनसेलका प्रयोगकर्ताको सङ्ख्या १८ लाख २२ हजार रहेको छ । पछिल्लो समय एनसेलले आफ्ना अधिकांश प्रयोगकर्तालाई फोरजीमा स्थानान्तरण गर्ने प्रक्रियालाई प्राथमिकता दिँदा यसका थ्रिजी प्रयोगकर्ता घट्दै गएको देखिन्छ । थ्रिजी र फोरजीसहित मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल सङ्ख्या भने दुई करोड ७५ लाख नाघेको छ । 

तार जोडेर उपलब्ध गराइने फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि निरन्तर वृद्धि देखिन्छ । निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले नयाँ ठाउँमा सेवा विस्तार गरिरहँदा फिक्स्ड ब्रोडब्यान्डको सङ्ख्या बढेको हो । प्राधिकरणका अनुसार फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड ३७ लाख रहेको छ । यसमध्ये नेपाल टेलिकमले उपलब्ध गराइरहेको एडिएसएल प्रयोग गर्नेको सङ्ख्या दुई लाख ३६ हजार रहेको छ भने फाइबर केबुलमार्फत उपलब्ध गराइने फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड १३ लाख रहेको छ । फिक्स्ड इन्टरनेट प्रयोगकर्तामध्ये पनि टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच प्रयोगकर्ताको सङ्ख्या १० लाख २४ हजार रहेको छ भने निजी इन्टरनेट सेवाप्रदायकको सेवा लिनेको सङ्ख्या एक करोड तीन लाख नाघेको छ ।

इन्टरनेट बजारमा टेलिकम अग्रणी स्थानमा देखिएको छ । सबै किसिमको इन्टरनेट प्रविधि गरेर टेलिकमले दुई करोडलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । मोबाइलबाट मात्र इन्टरनेट उपलब्ध गराइरहेको एनसेलका भने कुल इन्टरनेट ग्राहक ८९ लाख रहेका छन् । जनसङ्ख्याको अनुपातमा फिक्स्ड इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब ४० प्रतिशत पुगेको छ । त्यस्तै मोबाइल इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या भने करिब ९५ प्रतिशत पुगेको प्राधिकरणको तथ्याङ्क छ ।