लेखनाथ समाचारदाता
लेखनाथ, भदौ ३० गते । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुभएको छ । पुनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पुरस्कारको सञ्चालक संस्था सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगायतले नगद २५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख धनराज आचार्यले सहारा क्लब र यसले आयोजना गर्ने आरा रारा गोल्ड कप पोखराको पहिचान बनेको उल्लेख गर्नुभयो । उहाँले क्लबले चलाएको सहारा एकेडेमीको पूर्वाधार विकासमा महानगरको साथ रहने वाचा गर्नुभयो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले सहारा यो क्षेत्रको नमुना क्लब भएको उल्लेख गर्नुभयो ।
क्लबको २५औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा क्लबमा योगदान गर्ने २५ व्यक्तित्वलाई सम्मान गरिएको छ । पुन डेढ दशकदेखि पत्रकारिता सक्रिय हुनुहुन्छ ।
यो पुरस्कारबाट यसअघि नारायण शाही, दीपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसक्नुभएको छ ।