पर्वत समाचारदाता
पर्वत, भदौ ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधारको विकास गरे पनि गाउँ छाडेर हिँड्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पर्वतको कुस्मा नगरपालिका–१४ को वडा कार्यालय भवन शिलान्यास तथा पञ्चकोशी माविको चारकोठे भवन उद्घाटन गर्दै उहाँले गाउँमा पूर्वाधार बन्दै जाने तर विकास भएन भन्दै गाउँ छाडेर हिँड्ने प्रवृत्ति भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “जनता गाउँ छाडेर हिँड्ने अनि बाटो माग गर्न मन्त्रालय जाने। राज्यले लगानी गरेर पूर्वाधार निर्माण गर्छ, गाउँले गाउँ छाडेर सहर जान्छ भने विकास किन आवश्यक भयो ?” उहाँले अब राज्यले विकासको मोडल परिवर्तन गरी गाउँमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपालमा २०४८ सालपछि पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको भए पनि कतिपयले केही गरेनन् भन्ने आरोप लगाएको बताउनुभयो। उहाँले भन्नुभयो, “जसले देशका लागि केही गर्न सकेको छैन उसले नै केही गरेनन् भनेर आरोप लगाएका छन्’ विदेशमा बसेर पैसा पु¥याएर आएकाले अनि देशमा केही भएन भन्ने ?” मुख्यमन्त्री पाण्डेले पछिल्लो समय सञ्चार र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको तर दुरुपयोगसमेत बढेको बताउनुभयो।
उहाँले देशमा भएको धार्मिक तथा सांस्कृतिक एकता खलबल्याएर धमिलो पानीमा माछा मार्ने प्रयत्न भइरहेको बताउनुभयो। एकताबद्ध भएर बसेको समाजलाई खलबलाउने र क्षणिक लाभ लिन खोजिएकाले सबै जनता सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो, “भाषा, धर्म र सम्प्रदायको नाममा द्वन्द्व बढाउने प्रयत्न भएको छ। नेपाली नेपालीबिचको सद्भाव खलबलाएर स्वार्थ पूर्ति गर्न चाहने तत्व अगाडि बढेका छन्। यसलाई पनि हामीले होसियारीपूर्वक चिन्नुपर्ने बेला आएको छ।”
मुख्यमन्त्री पाण्डेले पछिल्लो समय युवापुस्तालाई बहकाउने, उचाल्ने र गलत कुरालाई सही बनाउने चालबाजी सबैभन्दा खतरनाक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रविधिको माध्यमबाट सामाजिक सद्भावलाई खलबलाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम खतरनाक छ। अन्त्यमा हामीले अहिलेसम्म प्राप्त गरेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हो।”
कार्यक्रममा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लामा पूर्वाधार र शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो। पञ्चकोशी माविमा पुनर्निर्माण कार्यालयमार्फत ७० लाख रुपियाँको लागतमा चारकोठे भवन निर्माण भएको हो। दुई करोड ५० लाख रुपियाँको लगानीमा निर्माण हुन लागेको वडा कार्यालयको पनि शिलान्याश भएको छ। वडा अध्यक्ष रुद्रमोहन रिमालले गण्डकी प्रदेश सरकार र कुस्मा नगरपालिकाको साझेदारीमा निर्माण हुने भवन सुविधासम्पन्न हुने जानकारी दिनुभयो।