• ११ मंसिर २०८१, मङ्गलबार

जसलाई ‘तुसारो’ ले अभ्यस्त बनायो

blog

काठमाडौँ, भदौ ३० गते । मान्छेका इच्छा र चाहना असीमित छन्। सोख र प्रतिभालाई जतिसक्यो बढावा दिन खोज्छ। त्यसैले त सुरेन गौतम भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत हुनुभयो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्नुहुने उहाँले २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराउनुभयो। सोही गीतबाट उहाँले साङ्गीतिक आकाशमा अभ्यस्त हुने प्रयास गरिरहनुभएको छ।

अर्घाखाँचीमा जन्मिनु भएका सुरेन पूर्वी पहाडी जिल्लामा बस्दा नै सङ्गीतको रसमा भिजिसक्नुभएको थियो। आफ्ना पिताजीको जागिरको सिलसिलामा पाँचथर पुग्दा त्यहाँका साहित्य र सङ्गीतका कार्यक्रममा सहभागी भइरहनुहुन्थ्यो। त्यस्तै माहोलले उहाँलाई गीत/सङ्गीतप्रति रुचि बढाउँदै लगेको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “२०६० सालमा घरमा खबरै नगरी काठमाडौँ पुगेर पहिलो गीत रेकर्ड गरेँ। उक्त गीत जब पाल्पा, चितवन, काठमाडौँका एफएम र रेडियोमा बज्न थाल्यो अनि बल्ल घरमा आमाबुवाले म गायक भएको थाहा पाउनुभयो।”

‘प्रनभ’ र ‘शुभ जीवन’ जस्ता दुई वटा गीतिएल्बम श्रोतामाझ ल्याइसक्नुभएका गौतमका करिब तीन दर्जन  गीत रेकर्ड छन्। तीमध्ये ‘पिरती लरी लै’, ‘रेसमी पर्दाले छेकेन’, ‘डाँडा कुहिरोले’, ‘बा आकाश हुन्’ र हालै अमेरिका पुगेर निकाल्नुभएको ‘दुई नजर’ जस्ता गीत दर्शकको अत्यधिक रोजाइमा परेका छन्। उहाँ आफ्नो तेस्रो एल्बम ‘सुरसङ्गीत’ ल्याउने तयारीमा हुनुहुन्छ। गौतम पिएचडीको अध्ययनसँगै गीत/सङ्गीतको प्रवर्धन आफ्नो प्राथमिकतामा भएको बताउनुहुन्छ।