काठमाडौँ, भदौ ३० गते । निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ। आयोगले तयार भएको कार्यविधि चार वटा मन्त्रालयमा रायका लागि पठाएको जनाएको छ।
आयोगको निर्वाचन शिक्षा शाखाका अनुसार मतदाता नामावली सङ्कलन र विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रायका लागि पठाइएको छ। भदौ पहिलो साता तीन वटै मन्त्रालयमा कार्यविधि पठाइएको र आइतबारसम्ममा रायसहित आइपुग्ने आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचन शिक्षासम्बन्धी कार्यविधि भने अर्थ, परराष्ट्र र सामान्य प्रशासनसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि पठाइएको छ। मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य स्थानीय तहले पनि गर्न पाउने गरी ‘स्थानीय तहसँगको समन्वय र सहकार्यमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेसम्बन्धी कार्यविधि’ तयार गरिएको हो। आयोगले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहले सञ्चालन गर्ने गरी कार्यविधि बनाएको छ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आयोगले निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहबाटै सञ्चालन गर्ने जनाए पनि प्रभावकारी भएन। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न आयोगले विदेशस्थित कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने तयारी थालेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साउन पहिलो सातादेखि कूटनीतिक नियोगमार्फत विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्ने बताउनुभएको थियो तर कार्यविधि नहुँदा सो कार्य सुरु हुन सकेन। आयोगले कार्यविधि स्वीकृत गरेपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यका लागि चासो देखाए स्रोत साधनसमेत स्थानीय तहको सम्बन्धित पालिकाले नै जुटाउनुपर्ने छ। पालिकाले नामावली सङ्कलनका लागि आवश्यक कम्प्युटर, स्क्यानर, डिजिटल दस्तखत, क्यामरासहितको किटमा करिब सात लाख रुपियाँ खर्चिनुपर्ने हुन्छ।
स्थानीय तहले वर्षैभरि नामावली सङ्कलन गर्न पाउने छन्। यसका लागि अतिरिक्त दुई जना जनशक्ति आवश्यक पर्ने छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिकाको केन्द्रसँगै वडाले समेत छुट्टै आआफ्नो वडामा नामावली सङ्कलन गर्न पाउने कार्यविधिमा व्यवस्था रहेको जानकारी दिनुभयो।