• १४ मंसिर २०८१, शुक्रबार

पोखरामा थपिए ४७ नगर प्रहरी

blog

नगर प्रहरीलाई बधाई दिनुहुँदै पोखरा महानगर प्रमुख धनराज आचार्य । तस्बिरः फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २९ गते। पोखरा महानगरमा ४७ नगर प्रहरी थपिएका छन्। अब महानगरमा नगर प्रहरीको सङ्ख्या  ७६ पुगेको छ। शुक्रबार दीक्षित भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन्। 

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा नयाँ नगर प्रहरीलाई तालिमपछि दीक्षित गरिएको हो। उनीहरूलाई महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेललगायतले दीक्षित गर्नुभएको हो।

नयाँ नगर प्रहरीलाई डेढ महिना तालिम दिइएको छ। तालिममा प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट, सृष्टि अधिकारी देवकोटा दोस्रो र सीमान्त थारु तेस्रो हुनुभएको छ। तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाइएको थियो। 

दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भीड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।

दीक्षान्तमा नगर प्रहरी जवानले कवाज प्रदर्शन गरे। उनीहरूलाई पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले शपथ गराउनुभएको छ। कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले नगर प्रहरी थपिँदा महानगरको सुव्यवस्था मजबुत हुने बताउनुभयो। 

महानगरले ०७९ चैत १२ गते खुलातर्फ २७ जना, महिलातर्फ चार, आदिवासी जनजातितर्फ सात, मधेशीतर्फ ६, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ गरेर ४८ प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो। 

हालै नगर प्रहरी निरीक्षकमा बढुवा हुनुभएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। थापालाई पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। 

पोखरा महानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, महानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिएको छ। 

यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई ऐनले दिएको छ।