राजन रावत
हुम्ला, भदौ २९ गते । पालनका लागि अग्ला पाटनमा लगिएका भेडी गोठहरु बेंसी (होचा) तर्फ झार्न सुरु गरिएको छ । चार हजार पाँच सयदेखि पाँच हजार मिटर अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडी गोठालाले बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरेका हुन् ।
नाम्खा गाउँपालिका –५ को यारीको नारा लेक क्षेत्रमा पाँच भेडा, बाख्राको बथान पाल्दै आउनुभएका भेडी गोठाला जन्न शाहीले अग्ला स्थानमा चिसो बढ्न थालेका कारण बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरिएको बताउनुभयो । उहाँले अग्ला पाटनमा चिसोले घाँस पनि सुक्न थालेका कारण अब केही होचा स्थानमा भेडी गोठ सारिएको बताउनुभयो ।
गत असार महिनादेखि उहाँले भेडी गोठ अग्ला पातनमा राख्दै आउनुभएको थियो । सो क्षेत्रमा आठ वटा भेडी गोठ रहेकोमा अहिले सबै खाली भएका छन् । उहाँले अब बिस्तारै तल झार्दै लगेर कात्तिक महिनासम्म घरमा लगिने बताउनुभयो ।
त्यसैगरी यारीकै ह्याङ्सीमा एक हजार पाँचसय भेडाको बथान पाल्दै आउनुभएको जग्गे सिंहले पाँच हजार मिटर अग्ला पाटनमा पाल्दै आएका भेडा चार हजार मिटर उचाइँमा झारिएको बताउनुभयो । उहाँले पाटनमा चिसो निकै बढेको कारण होचा स्थानमा झार्नुपर्ने अबस्था आएको बताउनुभयो । उहाँले अब हरेक दुई हप्तामा होचा स्थानमा भेडी सारिने बताउनुभयो ।
यी दुई उच्च पाटनमा १० हजारभन्दा बढी भेडा पालिएको थियो । यी दुई क्षेत्रमा मात्र होइन, रानी सैना, चुवाँखोला, लिमी क्षेत्रका अग्ला पाटनमा पाल्दैआएको भेडालाई सार्न थालिएको छ ।