रमेश पौडेल
पोखरा, भदौ २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।
गत साउन २८ गतेकागवेनी क्षेत्रमा आएको बाढीले ठुलो क्षति पुगेको थियो । सो क्षति र सहयोगका विषयमा दुई पक्षीय छलफल भएको छ । छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले स्थानीयले भोग्नुपरेको सास्ती, सामुदायिक सरकारी संरचनाहरूको क्षतिका बारेमा बताउँदै सहयोगका लागि युएनडिपीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रदेश सरकारको सीमित स्रोत र साधनका भए पुन निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।
गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन मुख्यमन्त्री पाण्डेको जोड थियो ।
युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेश भित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उहाँले कागबेनीको पुन निर्माण र पुनर्स्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो।
भेटका अवसरमा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन कालीगण्डकी कोरिडोरमा जीवनयापन तथा आय आर्जन सम्बन्धी कार्यक्रमका बारेमा छलफल भएको थियो । हिमताल सम्बन्धी अध्ययन अनुसन्धानको कामसमेत अघि बढिरहेको मेदागंगोडा लाबेले जानकारी गराउनुभयो ।
भेटघाटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले विपद् जोखिम व्यवस्थापन तथा भू–उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताउनुभयो ।