काठमाडौँ, भदौ २८ गते । सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयातको अनुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुनु नदिनका लागि अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिएको हो ।
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०-१० हजार टनका दरले चिनी आयात अनुमति प्रदान गरेको हो । साल्ट र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अर्थ मन्त्रालयले अनुमति प्रदान गरेको हो । हाल चिनी आयात गर्दा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नु पर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टन चिनी आयात गर्न अर्थ मन्त्रालयमा सहमति माग गरेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले चिनी आउन समय लाग्ने हुँदा चाडबाडलाई ध्यानमा राखी गरी तत्कालका लागि २० हजार टन चिनी आयात गर्न मन्त्रीस्तरीय निर्णयबाट अनुमति प्रदान भएको जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार र खाद्य व्यवस्थाबाट १० हजार गरी ६० हजार टन चिनी आयात गर्न अनुमति माग आएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले चिनी आयात गर्न धेरै ढिलो गरी अनुमति दिएको कर्पोरेसनले जनाएको छ ।
छोटो प्रक्रियामार्फत भारतबाट मात्रै एक महिनाभित्रमा चिनी आयात गर्न कर्पोरेसनले जनाएको छ । बजार हस्तक्षेपको जिम्मेवारी पाएका साल्ट र खाद्य व्यापारले तीन वर्षदेखि चिनी आयात गर्न सरकारबाट अनुमति पाएका थिएनन् ।
यसले गर्दा तीन वर्षदेखि साल्टले आम उपभोक्तालाई खुद्रा मूल्यमा एकदेखि दुई किलोका दरले चिनी बिक्री गर्दै आएको थियो भने खाद्य व्यवस्थाले तीन वर्षदेखि चिनी बिक्री गर्न नै पाएको थिएन । चिनीका लागि अनुमति नपाउँदा बर्सेनि सरकारले चाडबाडको समयमा आयोजना गर्दै आएको सुपथ मूल्य पसलबाट चिनीको बिक्री हुन छाडेको थियो । यसले गर्दा सीमित व्यापारीले मिलेमतो गरी चिनीको मूल्य आफूखुसी बढाएर उपभोक्तालाई महँगीको भार थोपर्दै आएका थिए ।
चाडपर्वका बेला बजारमा चिनीको खपत धेरै हुने हुँदा निजी उद्योग व्यवसायीले उपभोक्ता ठग्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी निकायबाट सुपथ मूल्यमा वितरण हुने गर्छ ।