• १४ मंसिर २०८१, शुक्रबार

तनहुँ जलविद्युत आयोजनाको काम ४३ प्रतिशत सम्पन्न

blog

तनहुँ जलविद्युत आयोजनाको निमार्णको क्रममा भएका कामहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २७ गते । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कार्य निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको छ । हालसम्म आयोजनाको झण्डै ४३ प्रतिशत काम पुरा भएको तनहुँ हाईड्रो पावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन भियतनाम र नेपालको कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको आयोजनाले जनाएको छ । यस अन्तर्गत हाल मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङको निर्माण पुरा भइसकेको छ । बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् ।

हिउँद लागेपछि डाइभर्सन सुरुङ (टनेल)बाट पानी तर्काएर बाँध निर्माण स्थलमा सुख्या गरी बाँधको जग खन्ने काम गरिने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । पानी लैजाने मुख्य सुरुङको एक हजार चार सय ५६ मिटरमध्य एक हजार एक सय मिटर खन्न बाँकी रहेको श्रेष्ठकले बताउनुभयो । सुरुङ, विद्युत् गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको आयोजनाले जनाएको छ ।


तेस्रो प्याकेज अन्तर्गत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको ६९ प्रतिशत काम पुरा भएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रशारण लाईनको लागि ९८ प्रतिशत समान आईसकेकोले काम गर्न सहज भएको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी को डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड-१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा काममा ढिलाइ भएको हो । आयोजनाको विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुनेछ ।


ऋषिङ गाउँपालिका-१ स्थित यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। 

कुल बजेटको ४० प्रतिशत खर्च भईसकेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले जानकारी दिनुभयो । स्थानीय बासिन्दा, प्रभावित बासिन्दा, राजनीतिक दल सबैको साथ र सहयोग मिलेको कामलाई दु्रत रुपमा अघि बढाउन सजिलो भएको  शिल्पाकार बताउनुहुन्छ । सुख्खायाममा हुने विद्युत अभाव हटाउनको लागि कुलेखानी पछि तनहुँ जलविद्युत निर्माण गर्न लागिएको यसको ठुलो महत्व रहेको आयोजनाले जनाएको छ ।