• १ जेठ २०८२, बुधबार

विपन्नका लागि बनाइएको घर प्रयोगविहीन

blog

संंरक्षणको अभावमा जीर्ण बन्दै गरिवका लागि निर्माण भएका घर । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ २७ गते । २०७५ सालमा बंगलाचुली गाउँपालिका–५ अन्तर्गत मुर्कुटी र कमिरेचौरमा गरिब तथा विपन्न परिवारका लागि १२ वटा घर निर्माण भए । मुर्कुटीमा ८ र कमिरेचौरमा ४ वटा गरी दुई कोठे १२ वटा घर निर्माण भएपछि मुर्कुटीमा दुई र कमिरेचौरमा चार वटा घरमा मानिसहरू बस्न थाले । 

मानिसहरू बस्न थालेका घर नियमित सरसफाइ र संरक्षणका कारण सुरक्षित रहेपनि खाली रहेका घर जीर्ण बन्न पुगेका छन् । घरका भित्ताहरू चर्कनका साथै झ्याल र ढोका समेत फुटेको स्थानीय कमला घर्तीमगर बताउनुहुन्छ । जग्गा जमिन नभएका र घर विहीन गरिब तथा विपन्न परिवारलाई राख्ने गरी घर निर्माण भएपनि संरक्षण नहुँदा राज्यको लगानी खेर जाने अवस्था भएको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “घरहरू राम्रो उद्देश्यका लागि निर्माण भएका हुन्, यी घरहरूलाई प्रयोगमा ल्याउन सक्नुपथ्र्याे । प्रयोगमा नआउँदा घरहरू जीर्ण बन्दै गएका छन् । जसले गर्दा राज्यको लगानी खेर जाने जस्तो देखिन्छ ।”

हाँसीपुरमा निर्माण भएका ६ वटा घरमा अहिले झ्याल ढोका छैनन् । निर्माण गरेको लामो समयसम्म पनि घर प्रयोग विहीन हुँदा दुई वटा घर भत्किएका छन् भने अन्य घरका पनि झ्याल ढोका फुटाइदिएका छन् । 

जङ्गलामा गाईबाख्रा चराउन जानेहरुसँगैै गाउँमा रहेका उर्छिङ मानिसहरूले घरका भित्ताहरूसँगै झ्याल र ढोका फुटाउँदा घर जीर्ण बनेको बंगलाचुली गाउँपालिका–८ का वडा अध्यक्ष झविन्द्र गाहामगर बताउनुहुन्छ । गरिब तथा विपन्न परिवारहरू पहिचान गरेर राखेको भए घर संरक्षण हुने भएपनि कोही बस्न नमान्दा घर जीर्ण बन्नका साथै भत्किन थालेको वडा अध्यक्ष गाहामगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बस्नका लागि उपयुक्त ठाउँमा घर निर्माण नहुँदा मानिसहरू बस्न मान्दैनन्, जसले गर्दा घर प्रयोगविहीन अवस्थामा छन् । घर प्रयोगविहीन हुनुको कारण उपयुक्त ठाउँ छनोट हुन नसक्नु नै हो ।”

गरिब तथा विपन्न परिवार बस्न नमानेपछि केही समय माध्यमिक विद्यालय हाँसीपुरमा अध्ययनरत विद्यार्थीले होस्टेलका रूपमा प्रयोग गरेका थिए । तर होस्टेलका रूपमा विद्यार्थीहरू बस्दा केही विद्यार्थी बिरामी भएपछि बस्न छोडेको वडा अध्यक्ष गाहामगर बताउनुहुन्छ । 

वडा नं. ५ र ८ मा निर्माण भएका घर जीर्ण अवस्थामा पुगेपनि अन्य वडामा निर्माण भएका घरको अवस्था ठिकै रहेको बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी बताउनुहुन्छ । राज्यले लगानी गरेर निर्माण भएका घरहरूको संरक्षण गर्ने जिम्मा जनताको पनि भएपनि जनताले संरक्षणमा ध्यान नदिँदा कतिपय घर जीर्ण अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष जिसीले भन्नुभयो, “गरिब तथा विपन्नका परिवारका लागि राज्यले लगानी गरेर निर्माण गरेका घरहरू संरक्षण गर्ने दायित्व वडा सरकारसँगै नागरिकको पनि हो । तर दायित्व अनुसार संरक्षण नहुँदा केही घरहरू भत्किनका साथै जीर्ण अवस्थामा पुगेका छन् ।”

बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा नमुना बस्ती निर्माण योजना अन्तर्गत बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा दुई-दुई कोठे ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिएको थियो । सङ्घीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोडको लागतमा निर्माण गरिएका अधिकांश घर लामो समय खाली रहनका साथै प्रयोगविहीन हुँदा जीर्ण बन्ने अवस्थामा पुगेका छन् । 

बस्नका लागि घर उपयुक्त नभएको र बस्तीदेखि टाढा एकान्त ठाउँमा घर निर्माण गरिएका कारण अधिकांश घर खाली रहेको स्थानीय बताउनुहुन्छ । गाउँपालिकाका वडा नं. ५ मा १२ वटा, वडा नं. २, ६ र ८ मा ६-६ वटा घर निर्माण गरेको थियो । निर्माण भएका ३० वटा घरमध्ये ११ वटा घरहरूमा मात्रै मानिसहरू बस्ने गरेको उपाध्यक्ष जिसी बताउनुहुन्छ ।