• १४ मंसिर २०८१, शुक्रबार

खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न पहल

blog

दमकको माछा बिक्री केन्द्र ।

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २७ गते । बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न दमक नगरपालिकाले पहल सुरु गरेको छ । खाद्य पदार्थ उत्पादन, प्रशोधन वा बिक्री वितरण गर्ने व्यवसायीहरू र उपभोक्ताहरूलाई नगरपालिकाले सचेत गराउन सुरु गरेको हो ।

दूषित र न्यून स्तरको खाद्य पदार्थको उपभोगका कारण उपभोक्ताहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको बताउँदै नगरपालिका अन्तर्गत रहेको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखा र नगरपालिकाद्वारा गठित स्थानीय बजार व्यवस्थापन समितिले न्यूनत सर्त तथा सीमाहरू लागु गरेको जनाएको छ ।

भारतबाट निकासी र पैठारी भई आउने गरेका माछा र जिउँदो माहुर माछाको बेचबिखन पूर्ण रूपमा बन्द गर्ने र सो माछाको बेचबिखन गरेको पाइएमा तत्काल जफत गरी कारबाही गरिने दमक नगरपालिका उपप्रमुख एवम् स्थानीय बजार व्यवस्थापन समितिकी संयोजक रेगिना भट्टराईले बताउनु भयो ।

उपप्रमुख भट्टराइका अनुसार सबै प्रकारका मासुजन्य पदार्थ बेचबिखन गर्दा खुल्ला रूपमा बेचबिखन गर्न नपाइने पनि जानकारी गराइएको छ । व्यवस्थित तरिकाले सिसा वा जाली लगाइएको भाडाको प्रयोग गर्ने र मासुजन्य पदार्थलाई डिप फ्रिजमा भण्डारण गर्नु पर्ने नियम लागु गर्ने उहाँले जनाउनुभयो ।

सबै व्यावसायीहरुले मूल्यमा एकरूपता कायम गर्नुपर्ने र मूल्य सूची अनिवार्य राख्नु पर्ने भट्टराईले जानकारी दिनुभयो । “अब अनुगमनका क्रममा नराखिएको पाइएमा कारबाही गरिनेछ,” उहाँले भन्नुभयो । बजारमा बेथिति बढेको भएकाले अब यसलाई नियन्त्रण गरिने नगरपालिकाले जनाएको छ ।

यसभन्दा अघि नै प्रतिबन्धित गरिएको ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिकमा पुन नगरपालिकाले प्रतिबन्ध लगाएको छ । अहिले बजारमा ४० माइक्रोनभन्दा कमको प्लास्टिक धेरै प्रयोग हुँदै आएको छ । बजार अनुगमन सम्बन्धी नगरपालिकाले ऐन, नियम र कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ ।