• २८ वैशाख २०८२, आइतबार

चेतना, अधिकार र महिला

blog

चेतना अधिकारको द्योतक हो । अधिकार निष्प्रभावी बन्नु भनेको चेतनाको स्तरमा बढोत्तरी नहुनु भनेर बुझ्दा थप प्रभावकारी हुन्छ । अधिकार युगसापेक्ष बन्नु स्वाभाविक हो । समकालीन अधिकार र कर्तव्यको चरम लेखाजोखाको समयमा पनि महिला सहभागिताबारे केवल बहस मात्र बाक्लिनुलाई विकासै मात्र त हो नि को संज्ञाले मुलुक विकासको सानो पाटोमा मात्र पुगेको रहेछ भन्ने सङ्केत गर्छ । 

सत्ययुगमा महिला अधिकार निरपेक्ष थियो, महिलाप्रतिको उच्च नैतिक मान्यताको आधारमा । जस्तै अत्रि ऋषिकी छोरी अनुसूया, गौतम महर्षीकी पत्नी अहल्या, ऋषि दक्षप्रजापतिकी छोरी तथा महादेवकी श्रीमती सतीदेवी, शन्तनु ऋषीकी श्रीमती सत्यवती । शावरीलाई त झन् सत्यनिष्ठाको प्रतीकको रूपमा समेत लिइन्छ । यी कालखण्डमा उच्च नैतिक आचरणका आधारमा महिलाको अधिकारका दायरा फराकिला भएका मानिन्छन् । मान्ने गरिन्छ, यी सत्यकालीन अवधिमा पितृसत्तात्मक अवयव लगभग शून्य थिए । सत्र लाख २८ हजार वर्ष अवधि रहेको यस युगमा पनि विन्यासका आधारमा महिला सहभागिता सीमिततामा रहनु निकै मर्मस्पर्सी कुरा हो । 

प्रारम्भको दोस्रो युग त्रेत्रा पृथक् र अधिकारमुखी रहेको हो कि, भन्न सकिन्छ, कर्म र मान्यताका हिसाबले । १२ लाख ९६ हजार वर्ष अवधि रहेको यस युगमा पुण्य र दैविक चेतका हिसाबले महिलाको स्थान उच्च थियो भन्ने मान्यताको विकास भएको पाइन्छ । यस युगका सीता, कैकेही, कौसिल्या सुमित्रा, मन्दोदरी, उर्मिलाहरूले रामायण तथा अन्य ग्रन्थमा छाप छाडेका विषयवस्तु हिजोआजसमेत समयसापेक्ष छन् । यिनीहरूको गुण विषेशतालाई शुद्धतासँग लिङ्क गरेको पाइन्छ । नारी पात्रता र विशेषताले यहाँ खास अर्थ र सामथ्र्य बोक्छन्, त्यो पनि सरलताको सूत्रमा ।

तेस्रो र चौथो युग क्रमशः द्वापर र कलिमा नारीको वर्णन फरक फरक ढङ्गले गरेको पाइन्छ । द्वापर युग महाभारतकालीन अवस्था हो, जहाँ महिला कम वैदिक बढी रणनीतिक शैलीमा देखिन्छन् । यस युगमा महिलाको स्वरूप चातुर्यतामा होइन रणकौशल निर्माणमा समेत देखिन्छ, त्यो पनि प्रभावी शैलीमा । यस समयका पात्र द्रौपदी, कुन्ती, गान्धारी, रुक्मिणी, राधाहरूको चरित्र सुन्न हेर्न पाइन्छ तर हिन्दुमा यिनीहरूलाई पुज्ने परम्परा नभएको देखिन्छ । यहाँ नाटकीय ढङ्गमा कृष्णले गज्जवको छाप छोड्न सकेका छन्, जुन हिजोआज कृष्ण चरित्रका स्वरूपले घर घरमा वाचन भएका छन् । 

कलियुग युगमध्यकै सबैभन्दा छोटो हो । छोटो अवधिले मात्र होइन, धार्मिक क्षयीकरण, नैतिक पतनता र उच्च भौतिकताका हिसाबले पनि । यहाँ कलिलाई अधर्मसँग जोडिएको पाइन्छ । कलि र कलिका स्वरूप नितान्त फरक छन् । चार लाख ३२ वर्ष अवधि भएको कलियुगको प्रवृत्ति पछिल्लो समय फरक ढङ्गमा प्रस्तुत हुनुले वर्तमान समयको व्यावहारिक दण्डहीनतालाई अङ्कित गरेको प्रस्ट महसुस गर्न सकिन्छ । कलि युगकी पात्र साध्वीको बारेमा थप चर्चा हुन्छ, यहाँ जो कलियुगको नैराश्यताबाट कदापि विचलित हुन सकेकी हुन्नन् । माता दुर्गालाई सन्तुलनको एक पात्रका रूपमा अङ्कित गरेको पाइन्छ । कल्की पुराणको एक अंशमा कलियुगमा महिलाको सामाजिक क्षयीकरण र पुरुष वर्गको अधोगतिबारे गरिएको उल्लेख छ । यस्तो समाजमा महिला राजनीतिक चिन्तन र निर्णय निर्माण त फरक कोण नै भइहाल्यो । युगसापेक्ष राजनीतिक लेखाजोखा समकालीन सन्दर्भ हो, जसमा आग्रह र पूर्वाग्रह कदापि यथोचित हैन । हो, यही सन्दर्भ सत्य साबित हुँदै छ, यो युगमा त्यही पनि महिलाका विचारका हकमा, के हो सही होला त ? 

वैश्विक परिवेश आफैँमा एक अनन्त विन्दु हो, जसमा पुरुष महिलाका अधिकार समरूपी हिसाबले दायराकृत हुने गर्छन् । महिला अधिकार र यसबारेको सन्दर्भ प्रस्तुत गर्दा, जिसस क्राइस्टको जन्मपूर्व बिसी ई. १७५० मा प्राचीन मेसोपोटामियाका राजा हमुरावीले महिला अधिकारको पैरवी गर्दै महिलाको सम्पत्तिमाथिको हकबारे आधिकारिक घोषणा गरेको पाइन्छ । जुन महिला अधिकारको पहिलो कोसेढुङ्गाका रूपमा विकास हुन पुग्यो । तत्पश्चात सो संस्कृति प्राचीन इजिप्ट, प्राचीन ग्रिस, रोम हुँदै प्रथम पटक सन् १८९३ मा न्युजिल्यान्डमा महिलालाई संसदीय निर्वाचनमा मतदानको अधिकारसहित संस्थागत हुन पुग्यो । राजनीतिक सहभागिताको कुरा गर्दा पूर्वी अफ्रिकी मुलुक रुवान्डाको संसद्मा ६३.७५ प्रतिशत महिलाको प्रतिनिधित्व छ, जुन विश्वकै सबैभन्दा बढी हो । 

हरेक युगमा महिला पुरुषका अधिकारको समानान्तर उपयोग भएको सुन्न पाइन्छ, धार्मिक ग्रन्थमा कथाका स्वरूपमा । द्रौपदीले योग्य पति छान्नका लागि व्यक्तिगत अधिकारको उपयोग तथा द्रौपदीलाई साझा पत्नीका रूपमा मानिदिन कुन्तीले पाँच पाण्डवलाई गरेको आग्रह, जुन आग्रह पछि गएर सामथ्र्य र एकतामा बदलिएको छ । यी मिहीन खाकालाई पछिल्ला पुस्ताले केवल कथाका रूपमा मात्र ग्रहण गरिदिँदा आदिकालीन महिला अधिकारका बलिया पाटा थप खुकुलिन पुगे । ग्रन्थहरूमा यो मात्र होइन, यस्ता धेरै उदाहरण छन्, महिला अधिकारका आयामलाई उजागर गर्न सक्ने पक्ष तर हालसम्म पनि यसमाथि कुन कम्प्रिहेन्सिभ डिबेट गर्न सकिएको छैन । 

प्रथम अधिकार अभ्यासको इतिहास बिसी ई. ५३९ मा फारसी राजा साइरसले बेबिलोनमाथि विजयी भएपछि मन्दिरहरूको पुनस्र्थापना तथा निर्वासितहरूलाई मातृभूमि फिर्ताको अभियान चलाए । यसैलाई मानव अधिकारको प्रारम्भिक घोषणाका रूपमा हेर्ने गरिन्छ । यसलाई साइरस सिलिन्डर भनिन्छ, जुन हालसम्म पनि बेलायती सङ्ग्रहालयमा रहेको छ । १२१५ को म्याग्नाकार्टाद्वारा प्रतिविम्बित अधिकारका हिसाबमा राजाप्रजाबिचको समानता, सत्रौँ तथा अठारौँ शताब्दीको इनलाइटमेन्टको कालखण्ड जसमा जोन लक, भोल्टायर, रुसोले अधिकारका आधुनिक मोडेलहरूको धारणा निम्त्याएका थिए । यो क्रम सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रको माध्यमबाट पूर्णता पाएको विश्वास गरिन्छ । लाग्छ, कृत्रिम बौद्धिकता, डिजिटल अधिकार, लैङ्गिक समानता आदि जस्ता पछिल्ला समय विकसित घटनाक्रमले यो क्रम थप विस्तार हुने क्रममा छ । यसर्थ पनि अधिकार परिवर्तनशील अवयव हो, जसमध्ये महिला अधिकार झन् संवेदन र मननयोग्य विषयवस्तु हो । 

माथि उल्लिखित दुई विषयवस्तुमा खास दुई महसुसयोग्य भिन्नता पाइन्छ, ती हुन अधिकार र महिला अधिकार । यसको सापेक्षित तुलनामा अधिकार यानेकी पुरुष अधिकारले प्रधानता पाएको बुझिन्छ । अर्थात्, बिसी ई. को करिब १,२२१ वर्षपछि मात्र महिला अधिकार अभ्यासको थालनी भएको जानकारी छ । सभ्यताको विकास क्रममा पनि महिला अधिकारका आयाम गुप्त नै थिए र विकासोन्मुख मुलुकका हकमा सो क्रम जारी नै छ । यी विकासशील मुलुकमा महिला अधिकारका न्यूनतम आधारशिलासमेत परिपूर्ति गर्न हम्मेहम्मे परेको कुरा विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ तथा अन्य महिला अधिकारका पक्षमा पैरवी गर्ने संस्थाले बर्सेनि प्रकाशन गर्ने प्रतिवेदनले स्पष्ट पार्ने पार्छ । यसको कम्तीमा जिम्मा लिन सक्ने सक्षम र निष्पक्ष निकायको थप आवश्यकता परेको छ । 

वैश्विक महिला विकासका हिसाबमा यो विन्दु अनन्त छ, इतिहासकालदेखि नै । कम विकसित मुलुकका हकमा यो विषयवस्तु कुण्ठित हुँदै आएको छ । यसबारे निर्मम लेखाजोखा आवश्यक नै छ । अर्कातर्फ सन् २०२६ मा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदै छ । एकातर्फ महिला विकासका आयाम खुम्चने क्रम बढ्नु अर्र्कातर्फ मुलुकको स्तरोन्नति हुनु विरोधाभासपूर्ण छ । यसै कारण पनि महिला अधिकारमुखी दायरा फराक बनाउन सबै सम्बन्धित सरोकारवालाको ध्यान खिचिनु आवश्यक छ । 

लयात्मक सुधारका विचारविन्दु समयक्रम अनुसार सुधार हुन्छन्, जुन स्वाभाविकसमेत हो । यसो भन्दैमा सम्बोधनलायक विषयवस्तुलाई किन स्थान दिन सकिरहेको छैन त ? पूर्वीय दर्शन, युगकालीन योजना निर्माण जस्ता सामरिक महत्वका विषयवस्तुमा अब्बल रहेका महिलालाई समयसापेक्ष स्थान दिन नसक्नु ले सामाजिक असफलता दर्शाउँछ । वर्तमान विश्वका राजनीति, अर्थ वाणिज्य, सुशासन, विकास जस्ता अनेकन क्षेत्रमा विशाल सम्भावना भएका महिलाले प्रगति गरेका देख्न सुन्न सकिन्छ र गरिरहेका पनि छन् । यसका समय सापेक्ष लेखाजोखा गर्न सकिएमा महिला र पुरुषलाई भन्ने गरिएको उक्ति एक रथका दुई पाङ्ग्राले सार्थकता पाउन सक्छ ।