• १७ पुस २०८१, बुधबार

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस् : प्रधानमन्त्री

blog

श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्नुहुँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन् समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो ।


सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो । कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ ।


प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाउनुभएका विषयहरू सम्बोधन गर्नुहुँदै  निर्देशित गर्नुभएको छ । सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिनुभएको हो ।


प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदूतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु । नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्त्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु ।

पछिल्लो समय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पु¥याएको छ । र मुलुकको भुक्तानी सन्तुलनमा सहयोग लगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ ।

समग्र नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पनि श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनु पर्दछ ।

कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगहरूले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँहरूको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायहरूलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु ।

हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरहरूमा वृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ । 

मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ नै, आर्थिक कूटनीतिलाई पर्याप्त ध्यान दिनुपर्दछ । मुलुकको समृद्धिमा योगदान हुने गरी बाह्य लगानी अभिवृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत यहाँहरूले पर्याप्त ध्यान दिनुहुनेछ ।

नेपालमा पर्यटन विकासमा प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको पर्याप्त लाभ लिन सकेका छैनौँ । तसर्थ, विदेशी पर्यटकको आगमन वृद्धिका लागि नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यमा समेत तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।

व्यापार घाटा नेपालको अर्थतन्त्रको ठुलो चुनौतीका रूपमा रहिआएको छ । देशगत तथा वस्तुगत व्यापार विविधीकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएको छ । यसमा यहाँहरूको सक्रिय भूमिका रहनुपर्दछ ।

हामीले नेपालीको हकहितलाई ध्यानमा राखेर वैदेशिक मुलुकसँग भएका श्रम सम्झौताहरूलाई पुनरावलोकन गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतहरूले तत्काल प्राथमिकतामा राखी कार्य गर्नुहुनेछ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवाहरूलाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिन्छु ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरुवात भइसकेको छ । यसलाई प्रभावकारी गराउँदै गन्तव्य मुलुकमा समेत उपलब्ध सामाजिक सुरक्षाका योजनाहरूमा श्रमिक आबद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ । केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतज्यूहरूमा निर्देशित गर्दछु ।

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्बोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकहरूको अभिलेखीकरण लगायतका विषयमा तत्काल कार्ययोजना बनाई यहाँहरूले कार्यप्रारम्भ गर्नुहुनेछ ।

विदेशस्थित नेपाली दूतावासको कार्यक्षमताको कमी, साधनस्रोतको अभाव र नेपाली श्रमिकहरूको उद्धारका लागि समेत कठिनाइ भएका लगायतका विषय गम्भीर छन् । यस अन्तरक्रियामा महामहिम राजदूतज्यूहरूले जे–जति विषयहरू उठाउनुभएको छ, ती सबै विषयहरू मैले गम्भीरतापूर्वक सुनेको छु, महत्त्वका साथ टिपोट पनि गरेको छु । यी विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिई समस्या समाधानको पहल गर्नेछ । हिजो र आजको छलफलबाट हामी केही महत्त्वपूर्ण विषयमा निष्कर्षमा पुगेका छौँ । यस विषयहरूलाई सबै निकाय र पदाधिकारीहरूले पूर्णरूपमा कार्यान्वयनमा लैजान निर्देशित गर्दछु ।

यस अन्तरक्रियामा उठेका विषयहरूलाई समेटेर परराष्ट्र मन्त्रालयले कार्य सम्पादन सूचक तयार गरी कार्य सम्पादन सम्झौता हुने प्रबन्ध मिलाउनु हुनेछ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाल सरकारका मुख्यसचिवबाट आवश्यक समन्वय तथा नियमित रूपमा अनुगमन र सुपरिवेक्षण गरी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । त्यसका आधारमा सरकारले समग्र मूल्यांकनसहित कार्ययोजना बनाएर अगाडि बढ्नेछ ।

श्रम गन्तव्य मुलुकमा रहेका तपाई राजदूतहरू तथा यहाँ रहेका मन्त्रालय तथा निकायहरूबिच यस प्रकारको अन्तरक्रियाले श्रम आप्रवासनमा रहेका समस्या सम्बोधन गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ । आगामी दिनमा समेत यस प्रकारको अन्तरक्रियालाई निरन्तरता दिनेछौँ ।

अन्त्यमा, दुई दिवसीय अन्तरक्रियाले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्न, नेपालको कूटनीतिक क्षमतालाई सुदृढ र बिस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवम् नेपालको बहुआयमिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु, धन्यवाद ।