गुणबहादुर रोका
सुलीकोट, भदौ २५ गते । चम्पबती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा निर्माण गरिरहेको ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरण पुगेको छ । करिब ८५ देखि ९० प्रतिशत पुरा भएको छ । कम्पनीले २०७७ साल माघदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको सिभिल संरचना, उपकरण जडान लगायत सबै क्षेत्रको काम एकसाथ भइरहेको छ । निर्माणाधीन आयोजनाको सिभिल संरचनाको काम ९० प्रतिशत पुरा भएको कम्पनीका कार्यकारी निर्देशक दुर्गानारायण श्रेष्ठले बताउनुभयो । अहिले हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल जडानको काम भइरहेको छ ।
“आयोजनको तीन हजार २५० मिटर लामो सुरुङमध्ये ५० प्रतिशतभन्दा बढी खन्ने काम सकिएको छ”, उहाँले भन्नु भयो, “बाँकी सुरुङको काम मङ्सिरभित्र सम्पन्न हुनेछ । आयोजनको विद्युत खरिद सम्झौता पिपिए गरी वित्तीय व्यवस्थापन सम्पन्न गरेर निर्माण अन्तिम चरणमा पुर्याएको छौँ, तर पछिल्लो समय पिपिए खारेज भएको, वित्तीय व्यवस्थापन गर्न नसक्ने आयोजनाको सुचीमा राखेको पाइएको छ, यो गलत हो, हाम्रो आयोजनाको वित्तीय व्यवस्थापन भएर पनि विद्युत उत्पादन सुरु गर्ने चरणमा पुगिसकेको छ”, उहाँले भन्नुभयो ।
आयोजनाको सबै काम आगामी पुसभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत पालुङटार सबस्टेशनमा जोड्ने योजना भएपनि अब ३ किलो मिटर दुरीमा रहेको पराजुली भन्ने गाउँको लाइनमा लुपइन लुपआउट गरी जोड्ने योजना छ ।
सुरुको तालिका अनुसार आयोजनाबाट गत पुसभित्र उत्पादन सुरु गर्नुपर्ने लक्ष्य थियो तर स्थानीयले आयोजनाको साइट कार्यालय तोडफोड गरी एक्स्काभेटर, मेसिन, सवारीमा आगजनी गरेका कारण आयोजनाको उत्पादन तालिका ढिला हुन पुगेको कम्पनीका कार्यकारी अध्यक्ष हरिराम पराजुलीले जानकारी दिनुभयो ।