काठमाडौं, भदौ २४ गते । स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति डा. रामवरण यादव आइतबार साँझ वीर अस्पतालमा भर्ना हुनुभएको छ ।
उहाँको स्वास्थ्य अवस्था र भइरहेको उपचारका विषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत आइतबार साँझ अस्पताल पुग्नुभएको छ।
मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहनु भएका डा. यादवलाई भेटेर स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुभएको हो ।
डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकले कुनै कमी नगरेको महसुुस गरेको बताउनुभएको छ । मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरेर दुई शय्या थप्न लगाएर पाँच शय्या बनाउनुभएको छ ।
भिआईभी र भिभिआईपीको उपचारका लागि वीरसहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकको टिम बनाएकोले उपचारका विषयमा चिन्ता लिनुनपर्ने उहाँको भनाइ छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो ।
पूर्व राष्ट्रपति यादवको उपचारका मुटुरोग विज्ञ डा. भगवान कोइराला, डा. रत्नमणि गजुरेल, डा. समिर पौडेललगायत संलग्न हुनुहुन्छ ।
डा. बस्नेतका अनुसार डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । उहाँको स्वास्थ्य अवस्था भने स्थिर छ । मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमी हुन नदिन न्याम्सका उपकुलपतिलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालमै उपचार गराइरहनुभएका कोशी प्रदेशका भौतिक व्यवस्थामन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका विषयमा जानकारी लिनुभएको छ।