मीना कंडेल
कावासोती, भदौ २४ गते । पूर्वी नवलपरासीमा त्रिवर्षीय रूपमा हेर्दा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएपनि वर्तमान अवस्थामा घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ। समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ । “आशा जगाऔँ, जीवन बचाऔँ” भन्ने मूल उद्देश्यका साथ यस वर्षको आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यालय अन्तर्गत प्रहरीले आत्महत्या रोकथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा गत वर्ष २०७९/०८० मा सात सय २२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा ४५८ पुरुष, १९३ महिला, ४३ जना बालिका, २२ बालक गरी सात सय २२ जना रहेको प्रहरीले जनाएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७९/८० जिल्लामा एक सय नौ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झुन्डिएर एक सय दुई जना, विष खाएर ६ जना, पानीमा हाम फालेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
नवलपुर प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा आत्महत्या गम्भीर समस्याको रूपमा देखा पर्न थालेको छ । प्रहरीका अनुसार आ.व २०७७/७८ मा १०१ जना, आ.व ७८/७९ मा एक सय २७ र आ.व ७९/८० मा एक सय ९ जनाले आत्महत्या गरेका हुन् । जिल्लामा गत आ.व मा १६ वर्ष मुनिका ५ जना, १६ देखि २५ वर्षसम्मका २२ जना, २६ देखि ३५ वर्ष सम्मका १४ जना, ३६ देखि ४५ वर्षसम्मका २० जना, ४६ देखि ५५ वर्षसम्मका २७ जना र ५५ वर्ष माथिका २१ जनाले आत्महत्या गरेका हुन् ।
शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बढ्दै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनीकरण गर्न सकिनेछ ।” आत्महत्या दुरुत्साहनको कानुनले आत्महत्या न्यूनीकरण गर्न नसक्ने बताउँदै समाजमा सामाजिक मनोपरामर्श र सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन् । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाको भनाइ छ । आत्महत्या नियन्त्रण गर्नका लागि स्वयंसेविकाको पनि विशेष भूमिका रहने उहाँले बताउनुभयो ।
आत्महत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरू रहेको अनुसन्धानले देखाएको सूचना अधिकारी पौडेलले बताउनुभयो । जिल्लाका सबै पालिकाको समन्वयमा समुदायमा पुगेर सचेतना कक्षा सञ्चालन गरिने प्रहरीले जनाएको छ।