• ३ असार २०८१, सोमबार

जनप्रिय मावि र न्यु वेष्ट प्वाइन्ट फाइनलमा

blog

बेनी सामुदायिक विद्यालयले गरेको पेनाल्टी (ट्राइब्रेकर) रोक्दै दरवाङका गोलकिपर । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २४ गते । पश्चिम म्याग्दीको जनप्रिय माध्यमिक विद्यालय दरवाङ र बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय म्याग्दीको बेनीमा शनिबारदेखि जारी अन्तर माध्यमिक विद्यालय स्तरीय खुला महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

न्यु दोभान युवा क्लब बेनीले आयोजना गरेको ९–ए साइड फुटबल प्रतियोगितामा म्याग्दी तथा बागलुङका गरी १० माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । जनप्रिय माध्यमिक विद्यालयले बेनी सामुदायिक माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै बेनी बजारको प्रकाश माध्यमिक विद्यालयलाई ३–० गोलले हराउँदै न्यु वेष्ट प्वाइन्टले फाइनलमा स्थान बनाएको हो । 

प्रतियोगितामा पहिलो हुनेले ४५ हजार रुपियाँ र दोस्रो हुनेले २५ हजार रुपियाँ नगद, मेडल र ट्रफि प्राप्त गर्ने क्लबका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई पाँच हजार रुपियाँ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही तीन तीन हजार रुपियाँका दरले नगद सहित ट्रफि प्रदान गरिने छ ।