• १४ मंसिर २०८१, शुक्रबार

प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक

blog

माईजोगमाई गाउँपालिका कार्यालय । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), भदौ २४ गते । इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ । 

पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उहाँलाई हाजिर नगराई फर्काइएको छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो आदेश भन्दै उहाँलाई हाजिर नगराइएको बताइएको छ ।  

पालिकाका निमित्त कार्यालय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आउनुभएका पोख्रेलको रमनापत्र र सरुवापत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको जानकारी दिनुभयो । हाजिर नगराएपछि पोख्रेल इलाम फर्कनुभएको छ । 

उहाँले रमाना र सरुवापत्र दर्ता भएपछि हाजिर गराएसरह भए पनि हाजिरी लुकाइएको जानकारी दिनुभयो । ताप्लेजुङबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको आइतबार हाजिर हुने अन्तिम दिन थियो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा रहँदा राम्रो काम गर्नुभएका पोख्रेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी माईजोगमाई पठाएको थियो । 

विवादै विवादमा रहेको माईजागमाईमा पोख्रेललाई समेत हाजिर नगराइएपछि कार्यालयको काम प्रभावित हुनेभएको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले गाउँपालिका अध्यक्ष पालिका बाहिर रहेको र आफू भएकैबेला हाजिर गराउने भन्ने कुराले हाजिर हुन नसकेको बताउनुभयो । 

केही दिनअघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको सरुवा भएको थियो । उहाँको सरुवा भएलगत्तै गत १८ गते गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईसँग कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएको थियो । सो भिडियोका कारण चर्चामा रहेको गाउँपालिका थप विवादित बन्दैगएको छ ।