• १२ पुस २०८१, शुक्रबार

पर्यटन : आर्थिक विकासको मेरुदण्ड

blog

पर्यटनको इतिहास धेरै पुरानो रहेको देखिन्छ। सम्राट् अशोक लुम्बिनी आएको र बौद्ध क्षेत्रको दर्शन गरी स्तम्भ राखेको प्रामाणिक इतिहास छ। हिरोडट्सले इजिप्ट, प्यालेस्टाइन, दक्षिणी रसिया, उत्तरी अफ्रिकाको यात्रा गरेका थिए भनिन्छ। प्राचीन रोमनहरू बिदामा विदेश घुम्ने गर्दथे। बेलायती पर्यटन व्यवसायी थोमस कुकले सामूहिक पर्यटनको सुरुवात गरेका थिए। हुएन साङले उत्तरी नेपालको भ्रमण गरेका थिए। 

नेपालको एकीकरणपछि पनि राजनीतिक सम्बन्धका लागि विदेशीहरूले नेपालको भ्रमण गर्ने गरेको पाइन्छ। कर्कप्याट्रिक, ह्यामिल्टन, हड्सन जस्ता व्यक्तिहरूले नेपाल भ्रमण गरी सामाजिक, सांस्कृतिक पक्षहरूका बारेमा अध्ययन गरेका थिए। जेरार्ड तोफिनले सन् १९७२ देखि नेपालको दक्षिण ललितपुरको प्याङगाउँ बसेर यहाँको जनजीवन, सांस्कृतिक पक्षका बारेमा अध्ययन गरेर सन् १९७७ मा विद्यावारिधि नै गरे। जङ्गबहादुर राणाले सन् १९०६ मा प्रधानमन्त्रीका रूपमा बेलायत र फ्रान्सको भ्रमण गरेपछि नेपालमा पर्यटनको नौलो अध्यायको सुरुवात भएको मानिन्छ। 

अहिले मानिसहरू अनुकूल समय मिलाएर स्वदेश तथा विदेशका विभिन्न प्राकृतिक रमणीय स्थल, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक  महत्वको तीर्थस्थल, सम्पदा क्षेत्र, ऐतिहासिक स्थल, बस्ती, पार्क आदि घुम्न जाने प्रचलनको विकास हुन थालेको छ। सामान्य बुझाइमा यसरी घुम्नु नै पर्यटन हो। पर्यटनमा आयव्ययको हिसाब गरिँदैन, केवल मनोरञ्जन वा आनन्दको अनुभूति लिने वा कुनै नयाँ जानकारी वा ज्ञान प्राप्त गरिन्छ। विश्व पर्यटन सङ्गठनका अनुसार एक रात बिताउन भनेर घरबाट टाढा रहने व्यक्तिलाई पर्यटक भनिन्छ। त्यसैले तीर्थाटन, व्यापार, व्यवसाय, तालिम वा अध्ययन, औषधी उपचार, रोजगार, खेलकुद आदिका लागि गरिने यात्राले पर्यटनको झल्को दिन्छ। 

नेपाल विविध धार्मिक, सांस्कृतिक, पुरातात्त्विक  सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिएको देश हो। देशको हरेक गल्ली, चोक, डबली, सडकमा रहेका ऐतिहासिक मन्दिर, चैत्य, विहार, हिटीहरूले खुला सङ्ग्रहालयको झल्को दिएको छ। जैविक विविधतायुक्त हरिया पहाड तथा त्यहाँको चट्टान चिरेर निस्केको झरना, नदी, तालतलैया, चाँदी झैँ टल्कने उच्च हिमशिखरले देशलाई पर्यटनको दृष्टिले धनी बनाएको छ। यसैका लागि देशमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने गरेको छ। 

प्रकृतिको उपयोग गरी देशमा पर्वतारोहण, जलयात्रा, साइकलयात्रा, बेलुनयात्रा, घोडचढी, बन्जीजम्प, स्किइङ, ग्लाइडिङ, कायकिङ, वन्यजन्तुको अवलोकन जस्ता साहसिक तथा मनोरञ्जनात्मक कार्यमार्फत पर्यटन उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउन सकिन्छ। विश्वसामु पहिचान बन्दै गएको नेपाली कला, संस्कृति, नाचगान, बाजागाजा, जात्रा, पर्व जस्ता संस्कृति, वेशभूषालाई पर्यटकको आकर्षणका रूपमा प्रयोग गर्दै ग्रामीण पर्यटनको विकास गर्न सकिन्छ। 

भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सबै दृष्टिकोणबाट नेपाल पर्यटनको विकास र विस्तार गर्न सक्ने प्रशस्त सम्भावना बोकेको देशका रूपमा रहेको छ। सांस्कृतिक क्षेत्रको संरक्षण र संवर्धन गरी पर्यटन क्षेत्रको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको भनी तीन वर्षीय अन्तरिम योजना, २०६४ ले समेत औँल्याएको थियो। देशका मूर्त–अमूर्त सांस्कृतिक, प्राकृतिक स्थल, मानव निर्मित सम्पदाहरूको खोज, संरक्षण, संवर्धन एवं विकास गरी नेपाललाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलका रूपमा विकास गर्ने उद्देश्य पर्यटन नीति, २०६५ को रहेको छ।

नेपालको कुनै पनि भागमा आवतजावत गर्न पाउने स्वतन्त्रताको मौलिक अधिकारभित्र पर्यटन पनि पर्ने देखिन्छ। राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति राज्यको हुने कुरा नेपालको संविधानमा प्रस्ट गरेको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ ले पर्यटनलाई सेवा उद्योगका रूपमा मान्यता प्रदान गरेको छ। दुई अर्ब रुपियाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन उद्योगलाई र पाँच करोड रुपियाँभन्दा बढीको पुँजी लगानीमा महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा स्थापना हुने पूर्वाधारयुक्त होटल, रिसोर्ट जस्ता पर्यटन उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट हुने र त्यसपछिको तीन वर्षसम्म लाग्ने आयकरको दरमा ५० प्रतिशत हुने गरी छुट तथा सहुलियत प्रदान गरिएको छ। यसले पर्यटन उद्योगको विकासमा मद्दत पुग्ने देखिन्छ। 

पर्यटन विकास तथा पर्यटन सेवा शुल्कसम्बन्धी विषय सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारभित्र पर्छ। नेपालको संविधानले स्थानीय तहको एकल अधिकारभित्र स्थानीय पर्यटन शुल्कको विषयलाई अनुसूची ८ मा उल्लेख गरिएको छ। स्थानीय सरकारले पनि यसै अनुसूची अन्तर्गत रही स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाको कार्यान्वयन गर्न सक्छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्धन तथा नवीन पर्यटकीय सेवासम्बन्धी आयोजनाको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन गाउँपालिका तथा नगरपालिकाले गर्न सक्छ। 

सोही ऐनको दफा ९ अनुसार प्रदेश सरकारले कुनै गाउँपालिका वा नगरपालिकाको ऐतिहासिक महत्व, पुरातात्त्विक  वस्तु, कला वा संस्कृतिको संरक्षण वा प्रवर्धन गर्न उपयुक्त देखेमा त्यसका लागि मापदण्ड तोकी कुनै गाउँपालिका वा नगरपालिका वा सोको कुनै क्षेत्रलाई चार किल्ला खोली सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न र त्यस्ता क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तथा बजेटको व्यवस्था गर्न सक्छ। साथै गाउँपालिका वा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रका कुनै स्थानलाई सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने अधिकार ऐनको दफा ९ (३) ले प्रदान गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार राष्ट्रिय तथा प्रदेशको नीति अनुकूल हुने र प्राथमिकता हुने गरी कार्यान्वयन गर्न मिल्ने पर्यटनसम्बन्धी आवश्यक नीतिको व्यवस्था गर्न सकिन्छ। 

देशको आर्थिक विकासमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशस्त सम्भावना रहेको छ। भौगोलिक तथा प्राकृतिक अवस्थाले विदेशी पर्यटकलाई नेपालमा आकर्षण गर्न सकिन्छ। र्‍याफ्टिङ, ग्लाइडिङ, ब्यालुनिङ, क्यानोनिङ गल्फ, पोलो, घोडचढी जस्ता खेल सञ्चालन गरी पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ। पर्यटकको आगमनले देशमा होटल, रिसोर्ट, रेस्टुराँ, ट्राभल एजेन्सी, टुर अप्रेटर, मसाज स्पा, होमस्टे सञ्चालन गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। अहिले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख उद्योग नै पर्यटन भएको छ। 

परम्परागत, कलात्मक शैलीको मौलिक वस्तुको उत्पादन तथा बिक्री बढ्नाले घरेलु तथा साना उद्योग फस्टाई रोजगारी बढ्न जान्छ। हस्तकलाको सामान, लत्ताकपडा, बसोबासमा पर्यटकबाट गरिने खर्चले स्थानीय व्यापार, व्यवसाय बढ्ने, रोजगार सिर्जना हुने र एकअर्काबिच संस्कृतिको आदानप्रदान हुने गर्छ। पर्यटन उद्योगको विकासले देशमा बस्ने मानिस स्वदेशी तथा विदेशी मुद्रा आर्जन गरी आर्थिक रूपमा सम्पन्न बन्न सक्छ। 

यसका लागि विभिन्न मूर्त, अमूर्त सम्पदाको संरक्षण र संवर्धन हुनु पर्छ। प्राकृतिक स्थलहरूको वातावरण स्वच्छ र सफा हुनु पर्छ। यस्ता विविध पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै पर्यटन उद्योगको विकास गर्दै लानु पर्छ। यसले गरिबी निवारणमा सहयोग पुग्ने र देश आर्थिक रूपमा समृद्ध हुने गर्छ। 

नेपाली संस्कृति र सभ्यताको संरक्षण गरी विश्वमा प्रचारप्रसार गर्न सके देशमा पर्यटन प्रवर्धन हुने र सांस्कृतिक पहिचानसमेत आदानप्रदान हुने गर्छ। दिगो पर्यटनमार्फत धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरण गर्न सकिन्छ। देशको अन्तर्राष्ट्रिय पहिचान बनाउनका लागि पनि पर्यटन आवश्यक रहेको छ। त्यसैले पर्यटनको विकासका लागि पर्यटकीय गन्तव्य स्थलको पहिचान हुनु पर्छ। 

ऐतिहासिक, प्राकृतिक रमणीय स्थल, मनोरञ्जनको नवीन सोचबाट तयार गरिएको स्थलको निर्माण हुनु पर्छ। पर्यटकीय स्थलसम्म पुग्ने सडक, पैदल मार्ग, साइकल मार्ग, यातायात, हवाई सेवा आदिको राम्रो बन्दोबस्त हुनु पर्छ। पर्यटकप्रति सकारात्मक सोच राखी सम्मानजनक व्यवहार गर्नु पर्छ। साथै उनीहरूको बसोबास, खानपान तथा सुरक्षाका लागि गुणस्तरीय होटल, रिसोर्ट, लज, रेस्टुँरा, होमस्टेको व्यवस्था हुनु पर्छ। स्थानीय स्तरबाटै पर्यटनको विकास गर्न स्थानीय समुदाय र स्थानीय तहबिच समन्वय र सहकार्य गरी अघि बढ्नु पर्छ। सरकारका तीन तहले पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिको अख्तियार गर्नु पर्छ।  

Author

राजाराम श्रेष्ठ