काठमाडौँ, भदौ २४ गते । कृषिमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका छन् । ती कामदारलाई ३९ हजार कृषक परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवारले स्थायी कामदार राखेका थिए । त्यति बेला स्थायी कामदार ७२ हजार तीन सय थिए । त्यसमध्ये २८ प्रतिशत महिला थिए ।
कृषिगणना अनुसार देशभर १८ लाख ३८ हजार कृषक परिवारले कृषिकर्मका लागि विभिन्न समयमा अस्थायी कामदार लगाएको पाइएको छ । कृषिगणना २०६८ अनुसार १५ लाख ४९ हजार कृषक परिवारले कृषिकर्मका लागि विभिन्न समयमा अस्थायी कामदार लगाएका थिए ।
त्यस्तै कृषिकार्य ठेक्कामा लगाउने कृषक परिवारको सङ्ख्या एक लाख एक हजार रहेका छन् । ठेक्का लिने व्यक्तिले लगाएका कामदारले वर्षभरमा जम्माजम्मी २४ लाख ९३ हजार दिन बराबरको काम गरेको कृषिगणना २०७८ को तथ्याङ्कमा उल्लेख छ ।
नेपालको जनगणना २०७८ अनुसार देशभर ६६ लाख ६७ हजार घरपरिवार रहेका छन् । त्यसमध्ये ४१ लाख ३१ हजार कृषि परिवारमा आबद्ध छन् । यी परिवारमा एक करोड ९४ लाख ४८ हजार जना रहेका छन् । कृषिगणनाको तथ्याङ्क केलाउँदा नेपालका ६२ प्रतिशत परिवार कृषिकार्यमा संलग्न रहेको देखिन्छ र ६७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र पर्दछन् । १७ प्रतिशत कृषक परिवार निरक्षर छन् । यसअघिको कृषिगणना २०६८ मा यसको प्रतिशत २४ थियो अर्थात् १० वर्षमा कृषिमा सात प्रतिशत साक्षर बढेका छन् ।
कृषिगणना अनुसार कृषिमा लागेका साक्षरमध्ये पाँच प्रतिशत एसइई उत्तीर्ण छन् भने त्योभन्दा माथिको तह उत्तीर्ण गर्ने सङ्ख्या १२ प्रतिशत रहेको छ । कृषिगणना अनुसार ७९ प्रतिशत कृषकले आफ्नो मुख्य पेसा कृषि नै रहेको भनेका छन् । २०६८ मा यो प्रतिशत ८१ थियो अर्थात् दुई प्रतिशतले मुख्य पेसा कृषिलाई छाडेका छन् । कृषक परिवारका नौ लाख ८५ हजारले औपचारिक रूपमा कृषि तालिम लिएर कृषि पेसामा लागेका छन् ।