काठमाडौँ, भदौ २४ गते । दार्चुला जिल्लामा चीनतर्फको सीमानाका टिङ्करमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । दार्चुलाको व्यास–१ स्थित छयालेक टिङ्करमा स्थापना गरिएको बिओपी चीनतर्फको नवौँ आउट पोस्ट रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार टिङ्करमा बिओपी स्थापनासँगै नेपाल–चीनतर्फ नौ र नेपाल–भारत सीमानाकामा २४३ गरी बिओपीको सङ्ख्या २५२ पुगेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले भदौ २२ गते शुक्रबार टिङ्करमा स्थापना भएको बिओपीको उद्घाटन गर्नुभएको हो । दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्रु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट कबिर ११ किलोमिटरको दूरीमा रहेको सशस्त्रले जनाएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङ्चुङ्गोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।
टिङ्करमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भदौ ३ गते त्यसतर्फ पु-याइएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुक भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै छ ।