• १३ मंसिर २०८१, बिहिबार

चितुवाको आक्रमणबाट महिला घाइते

blog

फाइल तस्बिर

शिवराज ढुंगाना 

अछाम, भदौ २३ गते । गोठ छाना नजिकै घाँस काट्नेक्रममा चितुवाको आक्रमणमा परी रामारोशन गाउँपालिका निवासी एक महिला घाइते भएकी छन् । चितुवाको आक्रमणबाट रामारोशन गाउँपालिका –६ भटाकाटिया निवासी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते भएकी हुन् ।  

भटाकाटियाको परिवन भन्ने ठाउँमा हैकला घाँस काटिरहेका बेलामा गोठ छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको थियो । उहाँका भतिजा कमल साउदका अनुसार ठुलीआमा घाँस काटिरहनुभएको थियो, गोठभित्रबाट सिधै चितुवाले आक्रमण गरेछ । 

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले करिब तीनसय मिटर पर रहेका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो । 

सोही गोठ नजिक बिहीबार राति गाई र गोरुलाई चितुवाले मारेको स्थानीयको भनाइ छ । दुई हप्ताअघि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।  

भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाईगोरु, बाख्रालाई मारिसकेको कमल साउँदले बताउनुभयो । चितुवा नियन्त्रणका लागि स्थानीयले प्रहरी र प्रशासनसँग माग गरेका छन् । चितुवाको डरले विद्यालय जानआउन पनि विद्यार्थीलाई समस्या भएको कमलको भनाइ छ ।