• १४ मंसिर २०८१, शुक्रबार

मुस्ताङको छोसेरका घर–घरमा खानेपानी धारा

blog

छोसेरमा निर्माण गरिएको खानेपानी योजनाको उद्घाटन गरिँदै । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौ २३ गते । खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् । 

योजना सम्पन्न भएसँगै छोसेरबासीको वर्षौदेखिको खानेपानी समस्या हटेको छ । योजना सम्पन्न भएसँगै करिब दुईसय घरधुरी लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको बजेटमा खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब डेढ करोड रुपियाँ लागतमा छोसेर खानेपानी योजना सम्पन्न गरेको हो । 

‘एक घर, एक धारा’ योजना कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिका १ र २ नम्बर वडाका करिब एक सय ८६ घरधुरीमा खानेपानी सुविधा पुगेको २ नम्बर वडाध्यक्ष कर्म नामगेल गुरुङले जानकारी दिनुभयो । साविक छोसेर गाउँलाई हाल दुई वटा वडामा विभाजन गरिएको छ ।  

उहाँले भन्नुभयो, ‘‘१२ वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।’’ योजना सम्पन्न गर्न स्थानीयवासीले पनि श्रमदान गरेको उहाँले बताउनुभयो । 

कोरला नाकाको आसपासमा रहेको च्याउङछु भन्ने स्थानमा रहेको पानीको मुलबाट करिब १५ किलोमिटर लामो पाइपलाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताउनुभयो । खानेपानीको मुहान टाढा भएकाले योजना सम्पन्न गर्न निकै कठिन भएको उहाँले सुनाउनुभयो । 

सात वर्ष अघिदेखि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन उहाँले भन्नुभयो, ‘‘आर्थिक वर्ष २०७९–८० मा पर्याप्त बजेट आएकाले योजनाले गति लिएको हो । वर्षौदेखिको हाम्रो सपना पूरा भएको छ । शुक्रबारदेखि धारामा पानी खसेपछि उपभोक्ताहरु हर्षित भएका छन् ।’’


योजनालाई दिगो रुपमा सञ्चालन गर्न एक जना हेरालु राखेको उहाँले जानकारी दिनुभयो । योजनामा गत आर्थिक वर्षमा ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिंचाइ विकास सवडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताउनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षमा ६ लाख १७ हजार बराबरको काम भएको छ । कोरोना महामारीका कारण दुई वर्ष जति बीचमा योजनामा काम नभएको र पानीको मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उहाँले बताउनुभयो । 

सबइन्जिनियर सार्कीका अनुसार योजनामा ३० हजार लिटरको एक वटा र २० हजार लिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिएको छ । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

खानेपानीको योजनाको शुक्रबार एक कार्यक्रमबीच उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा खानेपानी योजना सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।