गोकर्ण दयाल
बैतडी, भदौ २३ गते । जनगणतन्त्रका लागि माओवादी जनयुद्धमा होमिएका दीपक चन्द १८ वर्षदेखि शरीरमा गोलीको छर्रा बोकेर बाँच्न बाध्य हुनुहुन्छ । उहाँको पाखुरामा गोलीको छर्राले बनाएको घाउ प्रस्ट देखिन्छ । कम्मरभन्दा मुनिको भाग क्यान्सर रोगका कारण थलिएको छ । रोगको उपचार गर्दा घर खेत बेचिएपछि उहाँलाई खर्चको जोहो गर्न धौ धौ छ ।
गोलीको छर्रासँगै क्यान्सरले खाइरहेको कमजोर शरीर भए पनि उहाँ कुखुरा, बाख्रा र कालिजपालनमा लाग्नुभएको छ । ‘सास रहेसम्म आस’ भने जस्तै उहाँ उपचार खर्च जुटाउनकै लागि यस्तो दुःख गर्नुपरेको बताउनुहुन्छ ।
पञ्चेश्वर गाउँपालिका–३, कुलाउका दीपक २०६२ भदौमा कालीकोटको पिली भिडन्तमा घाइते हुनुभएको हो । तत्कालीन नेकपा (माओवादी) लडाकुको सातौँ डिभिजनमा सेना समायोजन र प्रमाणीकरणका बेला युएनका प्रतिनिधि र लडाकुबिच दोभाषेका रूपमा काम गर्नुभएको थियो ।
अङ्ग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका चन्दले शान्ति प्रक्रियापछि फार्मेसी विषयको समेत पढाइ गर्नुभयो । राज्य व्यवस्था फेर्न भनिएको लडाइँमा होमिएका दीपक अहिले भने क्यान्सर रोगसँग लडिरहनुभएको छ ।
आफ्नो पार्टी वा सरकारले दुई लाख रुपियाँ मात्र आर्थिक सहयोग गरिदिएको भए पनि प्रत्येक तीन महिनामा लाग्ने क्यान्सरविरुद्धको किमो खोप लगाउने धोको उहाँको अधुरो नै छ । सरकारले दिने सहयोगका लागि पठाएको निवेदनसहितको ‘फाइल’ हराएको सुन्दा त उहाँ आश्चर्यमा पर्नुभएको छ ।
“सरकारले दिने सहयोगका लागि पठाएको फाइल नै हराएको कुरा सुन्दा अनौठो लागेको छ,” उहाँले भन्नुभयो, “हरेस खाने कुरा भएन । घर खेत बिक्री गरेर चितवन र दिल्लीमा उपचार गराइरहेको छु ।” क्यान्सर रोग फैलिन नदिन चन्दको प्रत्येक तीन महिनामा किमोथेरापी गरिँदै आएको छ । खर्चको जोहो गर्न कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहेको उहाँ बताउनुहुन्छ । कृषि उद्यम गर्दा पनि स्थानीय तहको कृषि कार्यक्रमबाट कुनै सहयोग नमिलेको पीडा उहाँ सुनाउनुहुन्छ ।
यो मुलुकको शासन व्यवस्था कस्तो भयो ? उहाँ अचम्म मान्दै भन्नुहुन्छ, “जनगणतन्त्र आएमा सबै नागरिक समान, सबैलाई समान अवसर भन्ने नारा खुब रटियो र रटाइयो, अहिले आफैँ यस्तो अवस्था भोग्दै छु ।”
नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य विक्रम कुँवरले जीवनको ऊर्जाशील समय माओवादी पार्टीमा खर्चिनुभएका चन्दको उपचारका लागि पार्टीमा छलफल गरिने बताउनुभयो ।