• १३ मंसिर २०८१, बिहिबार

मोहना नदीको कटान नियन्त्रण गर्न माग

blog

धनगढी, भदौ २३ गते । कैलालीको भजनी नगरपालिका–५, पगियापसारवासीले मोहना नदीले खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न माग गरेका छन् ।  नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । उनीहरूले कटान नियन्त्रणको माग गरेका छन् । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ । 

“जैविक तटबन्धले कटान रोकिएन,” स्थानीय सरस्वती बुढाले भन्नुभयो, “कटान रोक्न यहाँ बलियो तटबन्ध बनाउनु पर्छ, दिगो र टिकाउ हुनु प-यो ।” यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत भएको बुढाले बताउनुभयो । नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उहाँले दुःखेसो गर्नुभयो ।  “उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ । वर्षमा तीन महिना पनि खान पुग्दैन,” सरस्वतीले भन्नुभयो । पगियापसार गाउँ २०२८ सालतिर बसेको हो । त्यो बेला मोहना नदी निकै पर थियो । 

अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । बर्सेनि नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन् । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ । 

नदी कटान नियन्त्रणका लागि आफूहरूले केन्द्र, प्रदेश र स्थानीय नेताहरूलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उहाँले गर्नुभयो । “कटान अहिलेदेखिको होइन, पहिलेदेखि कटान भइरहेको छ,” उहाँले अगाडि थप्नुभयो । 

कैलाली क्षेत्र नम्बर ३ मा पर्ने भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सरकार चलाइरहेको छ । यसै गरी सो ठाउँबाट प्रदेश र सङ्घमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले जित्नुभएको थियो । 

तीनै तहको सरकारमा अहिले सो पार्टी सामेल रहेकाले यस पटक कटान नियन्त्रणका लागि तटबन्ध हुनेमा पगियापसारवासी अझ बढी आशावादी देखिएका छन् तर अपेक्षा अनुसार काम हुन सकेको छैन । 

सो क्षेत्रबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले मोहना नदीमा कटान नियन्त्रणका लागि तटबन्ध बन्ने बताउनुभयो । “पगियापसार नेपाल–भारत सीमा क्षेत्रमा पर्छ,” उहाँले भन्नुभयो, “त्यस ठाउँमा सीमा विवाद रहेकाले विवादित भूमिबाहेकका ठाउँमा जनताको तटबन्ध कार्यव्रmम अन्तर्गत तटबन्ध बन्छ ।” तटबन्ध बनाउन आवश्यक कागजात पु-याइसकेको सदस्य चौधरीले बताउनुभयो ।