• २९ वैशाख २०८२, सोमबार

मेरो ध्यान नीतिगत परिवर्तनमा : मन्त्री शर्मा

blog

काठमाडौँ, भदौ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीहरूसँगको शुक्रबारको भेटमा उहाँले नीतिगत परिवर्तनबिना परिवर्तनको अनुभूति नहुने बताउनुभयो । 

आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको पनि भेटमा मन्त्री शर्माले बताउनुभयो । सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानुनहरू समयानुकूल परिमार्जन र नयाँ कानुन निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो । मन्त्रालयले तयार गरेको विज्ञहरूको टोलीबाट राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै  मन्त्री शर्माले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको पनि जानकारी दिनुभयो । पुरानो कानुनले अनलाइन मिडियालाई नचिन्ने भएकाले कानुन निर्माणमा लागेको उहाँले जोड दिनुभयो । 

नयाँ ऐन बन्न समय लाग्ने भएकाले अनलाइन मिडियालाई कानुनी मान्यता प्रदान गर्न सजिलो होस् भनेर केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढिरहेकाले यसको स्वनियम, सचेतना र नियमनका लागि मौजुदा कानुनको आधारमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका बनाउन थालिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।