• १४ असोज २०८१, सोमबार

अनधिकृतरुपमा प्रयोग भएका गाडी फिर्ता गर्न निर्देशन

blog

सुदूरपश्चिम, भदौ २३ गते । अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ । 

लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिनुभयो ।   प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो । 

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताउनुभयो । “विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भन्नुभयो ।

गाडी लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिने भएकाले गाडी उपलब्ध गराएको जवाफ सचिवालयले दिएपछि फिर्ता माग्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य धामीले बताउनुभयो ।“गाडीको सेवा सुविधा दिने हो भने ऐनअनुसारको अनुसूचि बनाउनु पर्‍यो, नभए ऐन सच्याउनु पर्नेभयो,” समितिका अर्का सदस्य मानबहादुर धामीले भन्नुभयो, “ऐन कानुन अस्पष्ट हुँदा सुविधा लिने नलिनेमा अन्योलता देखियो ।” 

प्रदेशसभा सचिवालयसँग ११ सवारी साधान छन् । यीमध्ये छ सवारी साधन नियम विपरीत प्रयोग भइरहेको जनाइएको छ । प्रदेशसभामा सत्तापक्ष नेकपा ९माओवादी केन्द्र०का नेता खगराज भट्ट, नेकपा ९एकीकृत समाजवादी०का नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयका गाडी प्रयोग गरिरहनु भएको सचिवालयका सूचना अधिकारी जैशीले बताउनुभयो ।

प्रदेशसभाका विभिन्न समितिका ज्येष्ठ सदस्यले पनि गाडीको चावी लिए पनि प्रयोग गर्नुभएको छैन । प्रदेशसभाका सदस्य र पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा सत्तापक्षीय दलका नेता, प्रमुख सचेतक र विपक्षी दलका नेतालाई गाडी सुविधा दिने उल्लेख भए पनि ऐनको अनुसूचीमा यो उल्लेख गरिएको छैन । रासस