• २६ पुस २०८१, शुक्रबार

कर्णालीका मुद्दा भोटसँग जोडियो : अध्यक्ष लिङ्देन

blog

सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै राप्रपाका नेताहरु । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, भदौ २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाउनुभएको छ । 

सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले कर्णाली सम्भावनालाई चुनावी एजेण्डा मात्र बनाएको बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले अवसर पाएको खण्डमा कर्णालीका अनेकौं सम्भावनाको ढोका खोल्ने पनि उल्लेख गर्नुभयो । 

उहाँले आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति पनि नगर्ने बताउनुभयो । पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको उहाँले बताउनुभयो । उहाँले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने बताउनुभएको हो ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीको १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौं ।’ 

उहाँले अब नवीन राप्रपा भन्ने कार्ययोजनाअनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि उहाँसहितका नेताहरु सुर्खेत आउनुभएको छ ।