अर्जुन काफ्ले
स्याङ्जा, भदौ २२ गते । पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो अर्जुनचौपारीमा १ बजारमा निर्माण गरिएको हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको हो ।
जिल्लाभित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पुर्याउने हेतुले आर्मीसँग सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको छ । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौंबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परीक्षण गरेको हो ।
पुतलीबजार हुँदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षणपश्चात् कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताउनुभयो ।
हेलिप्याडको पश्चिमतर्फ रहेको पहाडले थोरै समस्या रहने पनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने बताउनुभयो । हेलिप्याड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामग्रीको पूर्ति गरेको थियो ।
हेलिप्याड नेपाल आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा एक महिनासम्म दैनिक २० जनाको श्रमदान गरिएको थियो । हेलिप्याड ६०÷६० फिट लम्बाइ र चौडाइको रहेको र बाहिरी जिल्लामा रहेका मध्ये सबैभन्दा ठुलो हो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले हेलिप्याड निर्माण सफल भएको र परीक्षणसमेत भएको बताउँदै जोखिमका बेला हेलिप्याडको सदुपयोग हुने बताउनुभयो । हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गर्नुभएका कर्णेल श्रेष्ठसहितको टोलीलाई स्थानीय आमा समूहले फूल माला र अबिरले स्वागत गर्नुभएको थियो ।