• १८ असार २०८१, मङ्गलबार

मकवानपुरको ‘ठेकी’ लोप हुँदै

blog

फाइल तस्बिर

राममणि दाहाल

हेटौँडा, भदौ २१ गते । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ । 

सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा दरवारडाँडा सामुदायिक वनका पदाधिकारी, सदस्य र उपभोक्ताहरुले मकवानपुरको चिनारी ठेकी बनाउने दार लोप हुँदै गएको भन्दै सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्रको रुपमा विकास गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । 

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले ठेकी बनाउने दारका रुख बिरुवा लोप हुने अवस्थामा पुगेपछि आफूहरुले दारको संरक्षणमा अगुवाई गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, दरवारडाँडा सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर स्याङ्तानलगायतले दारको संरक्षण आवश्यक भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा दारका बिरुवा रोपण गर्ने क्षेत्रको सरसफाई, बिरुपा रोपणलगायतका काम गर्न डिभिजन वन राप्तीले दुई लाख रुपियाँ उपलब्ध गराएकोमा चालु आवमा दारको बिरुवा रोपण, गोडमेल, पुनः रोपण, घेराबारा, एक जना हेरालुको व्यवस्था, दारका पाँच हजार बिरुवाको नर्सरीलगायतका व्यवस्थापन गर्न दरवारडाँडा सामुदायिक वन उपभोक्ता समितिलाई पाँच लाख रुपियाँ प्रदान गरिने भएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको दारको संरक्षण गर्न नेपालमा पहिलो पटक दार पकेटक्षेत्र घोषणा गरेको दावी गर्दै वन डिभिजन प्रमुख आचार्यले दारको संरक्षण र प्रबद्र्धनका लागि पकेट क्षेत्रको कार्ययोजना बनेको बताउनुभयो । मकवानपुरका दुवै डिभिजन वन कार्यालयबाट मनहरीलगायतका स्थानमा गरी ३५ सयभन्दा बढी दारको बिरुवा रोपण गरिएको छ ।