• १३ मंसिर २०८१, बिहिबार

डेंगु परीक्षण गर्ने किट अभाव

blog

दमौली अस्पतालमा भर्ना भएका बिरामी ।

अमरराज नहर्की

तनहुँ, भदौ २१ गते । तनहुँस्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ ।

सदरमुकामस्थित जिल्ला स्तरीय दमौली अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी निजी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् । गण्डकी प्रदेश सरकारले ५० वटा मात्रै किट पठाएकोले अभाव भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउनुभयो ।

गण्डकी प्रदेशभरिका लागि ५०० मात्रै आएकोमा ५० वटा मात्रै प्राप्त भएकोले अभाव भएको बरालले जानकारी दिनुभयो । ५० जनाको परीक्षण गर्ने क्रममा आठ जनामा डेंगु पोजेटिभ आएको उहाँले बताउनुभयो । “तनहुँमा डेङ्गेको सङ्मण बढी छ । बिहीबारसम्म चार सय ९५ जनामा डेंगुको सङ्क्रमण भएको छ,” स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले भन्नुभयो । 

डेंगु रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत तनहुँमा पनि सञ्चालन गरिएको छ । सबै सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, सरकारी संस्थानहरु, गैर सरकारी संस्थाहरुलाई प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेट समय छुट्टाई लामखुट्टेको वासस्थान नष्ट गर्न समय छुट्टाइएको छ । 

यस अभियानमा कार्यान्वयनको लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मीहरू महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, शिक्षक, पत्रकार, सङ्घसस्थाहरु तथा सबै सरोकारवाला निकायलाई स्थानीय तहमार्फत परिचालन गरी आफ्नो आफ्नो वडाको हरेक घरधुरीमा अभियान सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । ‘‘सबै जागौँ सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ भन्ने अर्को नाराका साथ डेङ्गु ज्वरो गराउने वयस्क लामखुट्टे, लार्भा र अण्डालाई नष्ट गर्ने अभियान सफल पार्न कार्यालयले जनाएको छ । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा वान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने जस्ता लक्षण डेंगी रोगीको हुने दमौली अस्पतालका प्रमुख डा.बरालले जानकारी दिनुभयो ।

यसका साथै वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, नाक र गिजाबाट रगत आउने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्ष्यणहरु देखा पर्ने उहाँले जानकारी दिनुभयो । अभियान अन्तर्गत बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने भएकोले सकेसम्म घर बाहिर, खेतबारी हाँस, कुखुरा, बङ्गुर, सुँगुर फार्ममा ननिस्कने, हाँस, कुखुरा र बङ्गुरको वासस्थान सावधान पूर्वक दैनिक सरसफाइ गर्ने कार्य सञ्चालन गर्ने भइरहेको छ ।