काठमाडौं, भदौ २१ गते। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति निन्दा गर्दै उहाँले सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको हो।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मुलुकमा बढ्दो अराजकतालाई अन्त्य गर्न लागि नपर्ने हो भने कुनै पनि बेला असुरक्षाको स्थिति भोग्नुपर्ने अवस्था आउनेतर्फ उहाँले सरकार र राजनीतिक दललाई सचेत गराउनुभयो।
सांसद पौडेलले सहमहामन्त्री यादवको साङ्केतिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानुनी दायरामा ल्याउन सरकारलाई दबाब दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘यस प्रकारका अराजक क्रियाकलापलाई रोक्न निम्ति राज्यका सम्पूर्ण निकाय, राजनीतिक दलहरूले गम्भीरतापूर्वक सोचेर यस प्रकारका प्रवृत्तिलाई निरुत्साहित गर्ने र अझ घोषणा गर्दै हिँड्ने जसलाई भेट्यो, उसैलाई आक्रमण गर्छौँ भन्ने, सामाजिक सञ्जालमा बोल्दै हिँड्ने, सामाजिक सञ्जालमा भन्दै हिँड्ने प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नैपर्छ। यस प्रकारका प्रवृत्तिहरूको हामीले नियन्त्रण गर्नका लागि यहाँ राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, पत्रकारलगायत सम्पूर्ण पक्षहरू एकजुट भएर यो प्रवृत्तिलाई निषेध गर्नका निम्ति हामी एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो।’
सांसद पौडेलले पाँच वर्षीया बालिकाको उपचार नपाएर कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरप्रति दुःख व्यक्त गर्दै सो अस्पतालको सुधार गर्न पनि सरकारलाई सुझाव दिनुभयो।