• २६ पुस २०८१, शुक्रबार

पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : कांग्रेस

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । फाइल तस्बिर

काठमाडौं, भदौ २१ गते। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। 

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो। 

उहाँले सो घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनुभयो। पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो। यो ज्यान मार्नकै लागि गरिएको प्रहार अत्यन्तै क्रूरतापूर्ण, साङ्घातिक र बर्बर खालको जुन प्रहार भएको छ। यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ। म सिङ्गो नेपाली कांग्रेसको तर्फबाट, नेपाली कांग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भर्त्सना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु।। नेपाल सरकारलाई दोषीलगायत अरू पनि मानिसहरूको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् भन्ने म नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु।’’ 

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमा नै संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभयो।