गुणबहादुर रोका
सुलीकोट, भदौ २१ गते । हिन्दु नारीको महान् चाड हरितालिका तिजलाई खर्चिलो र तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशन गरी आग्रह गरेको छ ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संम्बद्र्धन गर्ने बाहेकका अन्य खर्चिला तथा महँगा कार्यक्रम नगर्न आग्रह गरेको हो ।
‘विगत केही वर्षयता हरितालिका तीज मनाउने नाममा अत्यन्त खर्चिलो तथा तडकभडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवम् सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ’ सूचनामा भनिएको छ ।
चाडपर्वलाई सभ्य मर्यादित बनाउने तथा सामाजिक, विकृति, विसङ्गति र अपराध नियन्त्रण गरी सामाजिक अनुशासन एवम् सदियौँदेखिको सदभाब कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेसागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाल समूह, तथा जिल्लावासीबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
कसैले भड्किलो रूपमा तामझाम तडकभडक र खर्चिलो हुनेगरी कोही कसैले सार्वजनिकस्थल, पार्टीप्यालेस लगायतका अन्य स्थानमा कानुनविपरीत रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना गरेमा सूचना तथा प्रचलित कानुनको बर्खिलाप हुनेगरी कुनै प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।